काभ्रेमा थप ४ प्रहरी र एक १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि

0
Shares

मोतिराम तिमिल्सिना, काभ्रे ।

काभ्रेमा आज थप चार प्रहरीसहित एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत तीन प्रहरी र जिल्ला प्रहरी काभ्रेमा कार्यरत एक प्रहरीमा कोरोना पुुष्टि भएको हो । यस अघि संघिय प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबार संघिय प्रहरीमा कार्यरत २२ जनाको स्वाब संकलन गरिएको थियो । जसमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत संक्रमित प्रहरी बिदामा घर गएर फर्किएका थिए । घरबाट फर्किएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । ती प्रहरीमा संक्रमण देखिएसँगै जिल्ला प्रहरीले उच्च सतर्कता अपनाएको एसपी रविकुमार पौडेलले बताउनुभयो ।

भुम्लु गाउँपालिका ६ का १९ वर्षीय एक युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कुरीयर कम्पनिमा कार्यरत उनी काठमाडौँ आउने जाने गरेको खुलेको छ । यससँगै, जिल्लामा कोरोना संक्रमितको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले बताउनुभएको छ ।