बोक्सीको आरोपमा ४ लाख रुपैयाँ दिएर दम्पतीको हत्या गराउने छिमेकी पक्राउ

0
Shares

न्युज अफ नेपाल, कञ्चनपुर ।

साउन १६ को राती साढे २ बजे शौचका लागि घर बाहिर निस्किएका ७० वर्षीय घनश्याम खाती एक्कासी चिच्याए। श्रीमान चिच्याएको आवाज सुनेपछि सुतिरहेकी ६८ वर्षीया बेलुदेवी पनि दौडिदैं घर बाहिर पुगिन।

गोठ छेउको आँगनमा उनका श्रीमान लडिरहेका थिए । उनी त्यहाँ पुग्दा अज्ञात समूहले बेलुदेबीमाथी पनि धारिलो हतियार प्रहार गरियो । छाती माथि गहिरो चोट लागेकी बेलुदेवीको घटनास्थलमै मृत्यु भयो । पेटमा गहिरो चोट लागेका घनश्याम भने पिढीमा रक्ताम्ये अवस्थामा लडिरहेका थिए। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको पनि उपचारका निधन भएको थियो ।

बोक्सीको आरोपमा हत्या करिब १० दिन अघि हत्या गरिएका बेलौरी नगरपालिका ७ भगतपुरका खाती दम्पत्तीलाई बोक्सीको आरोपमा हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  उनीहरुलाई बोक्सीको आरोपमा छिमेकी प्रकाश ऐरले पैसा दिएर हत्या गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हत्यामा संलग्न छिमेकी प्रकाश ऐरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ भगतपुरका ५३ वर्षीय ऐर, सोही ठाँउका ३५ वर्षीय दिनेश राना, ६ का होरी राना र कृष्णपुर नगरपालिका २ बस्ने भर्ना भनिने रवि राना छन्।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले छिमेकी प्रकाश ऐरले लामो समयदेखि मृतक परिवारसँग बोक्सीको आरोपमा विवाद गर्दै आएको र सोही विषयलाई लिएर भर्ना भनिने रवि रानालाई ४ लाख रुपैया दिएर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।