विपद्मा परेका पालिकालाई प्रदेश सरकारको सहयोग


न्युज अफ नेपाल,  हेटौंडा ।

बागमती प्रदेश सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश विपद् व्यबस्थापन निर्देशक समिति अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई ३० लाख, धादिङकै सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १५ लाख र बाह्रबीसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालीञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिका १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

बैठकमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा र प्रमुख सचिव मानबहादुर बीकेलगायत सहभागी हुनुहुन्थ्यो ।