कोरोना खोप बनाउने प्रयास अन्ध परीक्षण मात्र हो : डा.फोसी


न्युयोर्क (एजेन्सी) ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी स्टिफन फोसीका एक वरिष्ठ सल्लाहकार डेविड मोरेन्सले कोरोना खोप बनाउने सबै प्रयास एक प्रकारले अन्ध परीक्षण मात्र भएको बताए । यसले शुरुवाटमा राम्रो परिणाम दिए पनि अन्तिम चरणमा पनि यी खोप आफनो परीक्षणमा सफल प्रमाणित हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएकोमा उनले सचेत गराए ।

उनले भने, यसलाई पहिलो पटक मै सही गर्न सकिनेछ र ६ देखि १२ महिनामा भित्र हामीसँग एक राम्रो खोप हुनेछ भन्ने हामी आशा गरौं ।
अमेरिकामा जर्ज वासिंगटन विश्वविद्यालयका मिलकेन इन्स्टिच्युट अफ पब्लिक हेल्थमा वैश्विक स्वास्थ्य सहायक प्रोफेसर तथा खोपविज्ञ जोन एन्ड्रसले पनि कोरोना भाइरसको एक प्रभावकारी खोपको विकास हामीले सोचे जस्तो निश्चित नभएको बताए । खोप बनाउने होडमा यति बेला के गर्नु पर्ने हो त्यही छुट्न सक्ने उनले बताए ।

यसअघि कोराना भाइरसको विकसित भइरहेका खोपका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गर्दै यी खोप कोरोना भाइरस एकछिन मै समाप्त पार्ने कुनै जादुको गोली नभएको बताएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्रहोम घेबेयिसले सबै मिलेर लामो यात्रा तय गर्नु पर्ने बताएका छन् ।

विश्वभरी रुसी कोरोना खोपमा प्रश्न उठिरहेकै बेला त्यहाँ स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोवले रुसको खोप परीक्षण सफल भएको र अक्टोबर महिना देखि देशमा ब्यापक स्तरमा नागरिकहरुमा खाप अभियानको काम थालिने जानकारी दिए । उनले भने – यस खोप अभियानमा लाग्ने सम्पुर्ण खर्च सरकारले उठाउने छ ।

यसबीच उप स्वास्थ्य मन्त्री ओलेग ग्रिदनेवले अगस्ट १२ मा रुसले विश्वकै पहिलो कोरोना भाइरस खोपको रजिस्टर गर्ने जानकारी दिए । यसअघि रुसले आफनो कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सय प्रतिशत सफल भएको दावी गरेको थियो । यो खोप रुसको रक्षा मन्त्रालय र गेमलेया नेसनल सेन्टर फर रिसर्चले तयार गरेको हो । क्लिनिकल परीक्षणका क्रममा कोरोनाको उक्त खोप लगाइएकाहरु सबैमा सार्स –कोव–२ को रोग प्रतिरोधक क्षमता देखिएको रुसले बताएको छ ।