नाफामुखी स्वास्थ्य संस्था संकटमा काम लाग्दैनन्ः मुख्यमन्त्री गुरुङ


दुर्गाप्रसाद शर्मा, पर्वत

नाफा कमाउन खोलिएका स्वास्थ्य संस्था संकटका बेला काम नलाग्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । पर्वत अस्पतालमा मृगौलाको निःशुल्क डायलासिस सेवा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताउनुभयो ।

कोरोनाको महामारीका बेला निजी अस्पताल र शिक्षण अस्पतालहरूको भूमिकाप्रति मुख्यमन्त्रीले असन्तुष्टि पोख्नुभएको हो । कोरोनाले संकटसँगै स्वास्थ्य क्षेत्रमा सुधारको अवसर पनि दिएकाले सरकारी अस्पतालको सेवा सुधार गर्न राज्यको आँखा खोलिदिएको उहाँको कथन छ ।

‘जिल्ला अस्पतालहरूको स्टान्र्डड कायम गरेर सबै प्रदेशलाई उदाहरण देखाउँछौं’, उहाँले भन्नुभयो– ‘गण्डकी प्रदेश सरकार यसरी नै जिल्ला अस्पतालहरूमा उपकरण र सेवा–सुविधा विस्तार गर्दै जानेछ ।’

गण्डकी प्रदेशको सहयोगमा सेवा शुरू भएसँगै मृगौलाका बिरामीले डायलासिस गराउन पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पर्वत अस्पतालमा दैनिक ९ जनाले तत्काल डायलासिस सेवा लिन सक्ने गरी सेवा शुरू गरिएको हो । डायलसिस सेवा शुरू गर्न ४ वटा मेसिन जडान गरिएको छ ।

एक महिनासम्म पहिलो सिफ्टमा ९ जनालाई सेवा दिन सक्ने र जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । डायलसिस सेन्टरमा २ जना मेडिकल अफिसर, ६ स्टाफ नर्स र १ जना प्राविधिक छन् ।

पर्वत अस्पतालमा डायलसिस मेसिन जडान गर्न गण्डकी सरकारले १ करोड ३० लाख रुपियाँ उपलब्ध गराएको थियो भने प्रतिनिधिसभाका सदस्य पदम गिरीले स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत जेनेरेटर खरिद गर्नका लागि १५ लाख उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य पदम गिरीले आफूले पनि डायलासिस सेवा शुरू गर्न स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत सहयोग गरेको बताउनुभयो ।

गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले गण्डकी प्रदेश सरकारले जनता सरकारी अस्पतालमा आउँदा निरास भएर फर्कन नपर्ने गरी सेवा र पूर्वाधार विकासको काम गरिरहेको बताउनुहुन्छ ।