अभिभावक नहुँदा बालकको विचल्ली


विमल विष्ट, डोटी
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ नारा गाउँका ५५ वर्षीय बाजी खातीको मृत्यु भएसँगै उहाँका छोराहरू ९ वर्षीय लक्ष्मण खाती, २ वर्षीय कृष्ण खाती र ४ वर्षीय गणेश खातीको विचल्ली भएको छ । घरमा रेखदेख तथा हेरचाह गर्ने कुनै पनि अभिभावक नभएका कारण नाबालक बिचल्ली भएको हो ।
आमा–बाबुविहीन भएका ती बालकलाई हिजोआज घरमा खाना दिनेसमेत मान्छे नभएका कारण निकै समस्या उत्पन्न भएको छ । वर्षात्को झरीमा खरले छाएको चुहिने सानो झुपडीमा खानेकुरासमेत नहुँदा उनीहरू कयौं दिन भोकै बस्न बाध्य भएका छन् । ‘तीन जना साना बालक एक्लै घरमा बस्छन्, उनीहरूलाई खानेकुरो दिने मान्छे पनि छैनन् । घरमा रहेको अन्नपात समेत पकाएर खान सक्ने अवस्था नभएका कारण पनि उनीहरूलाई समस्या भएको सायल गाउँपालिका–६ का स्थानीयबासी रमेशबहादुर थापाले बताउनुभयो ।
लामो समयसम्म बिरामी रहेका बुबाको करिब १५ महिना पहिले मृत्यु भएसँगै आमाले पनि एकाएक घरबार छोडेर सम्पर्कविहीन भएपछि ती बालकको बिचल्ली भएको सायल गाउँपालिकाका अर्का स्थानीयबासी तथा नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो ।
दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै वडाका नागरिकको सहयोगमा उनीहरूका लागि केही खाद्यान्न र लत्ताकपडा उपलब्ध गराए पनि घरमा पकाएर दिने मान्छे नभएका कारण ती बालक समस्यामा भएको सायल गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खडायतले बताउनुभयो । श्रीमान्को मृत्यु भएको केही महिनामा नै छिमेकी मुलुक भारतको उडिसा शहरमा माइती भएकी आमा गोमा खाती नाबालक छोराहरू छोडेर उतै सम्पर्कविहीन भएको स्थानीयबासी बताउँछन् । टुहुरो भएका ९ वर्षका लक्ष्मण खातीले आफ्ना दुई भाइ दुई भाइको रेखदेख गरिरहेका छन् ।
आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई निकै हम्मे–हम्मे परेको छ । गाउँमा नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने तथा डराउने अवस्थाका लक्ष्मण खातीले छिमेकीसँगै मागेर भए पनि छाक टार्नुपरेको गुनासो गर्नुभयो । ‘सधैं कति माग्नु काम गर्न सक्ने उमेर र अवस्था छैन, के गरेर जिन्दगी काटौं ।’ –उहाँले भन्नुभयो । अभिभावकविहीन भएका ती बालकको उचित लालनपालनका लागि गाउँपालिकाबाट आवश्यक पहल गरिने सायल गाउँपालिकाका उपाध्यक्ष बिस्नादेवी सिंहले बताउनुभयो ।