अग्रताका बाबजुद पाकिस्तानले टेस्ट गुमायो


लन्डन, (एजेन्सी)
पाकिस्तानले पहिलो इनिङमा १ सय ७ रनले अग्रता लिए पनि इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट गुमाएको छ।
पहिलो इनिङमा १ सय रनभन्दा बढीको अग्रतालाई पाकिस्तानले जितको आधार बनाउन सकेन। दोस्रो इनिङमा १ सय ६९ रनमा अलआउट हुनु नै पाहुना टोली पाकिस्तानका लागि घातक सिद्ध भएको छ। जबकि, पहिलो इनिङमा ३ सय २६ रन बनाएको थियो। यसपछि पाकिस्तानी बलरले घरेलु टोली इंग्ल्यान्डलाई २ सय १९ रनमा रोकेका थिए। पाकिस्तानले २ सय ७७ रनको लक्ष्य दिएको थियो तर सो लक्ष्य इंग्ल्यान्डले ७ विकेटको नोक्सानमा भेटाएको थियो।

त्यसो त पाकिस्तानका बलरले इंग्ल्यान्डका शीर्ष ५ व्याट्सम्यानलाई सस्तैमा पवेलियन पठाएका थिए। त्यतिबेलासम्म पाकिस्तान खेलमा हावी बनेको थियो। इंग्ल्यान्ड ५ विकेटको क्षतिमा १ सय १७ रनको योगफलमा थियो। पाकिस्तानलाई जितका लागि थप ५ विकेटको आवश्यक थियो। तर, क्रिस वोक्स र जोस बटलरले शतकीय साझेदारी गरेपछि पाकिस्तानको हातमा आइसकेको नतिजा नै फुस्काउनुपरेको थियो।

यासिर शाहले इंग्ल्यान्डको विकेट लिएर बटलर र वोक्सको १ सय ३९ रनको शतकीय साझेदारी तोडेका थिए। तर, त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो, इंग्ल्यान्ड टिम जितको खुसी मनाउने तयारीमा थियो। बटलर ७५ रन जोडेर आउट हुँदा इंग्ल्यान्ड जितबाट २१ रनले मात्रै टाढा थियो। यद्यपि, यासिरले स्टुआर्ट ब्रोडलाई पनि आउट गरेका थिए। तर, अर्को इन्डमा रहेका ब्याट्सम्यान वोक्स ८४ रनमा नटआउट हुँदै इंग्ल्यान्डलाई ३ विकेटको रोमाञ्चक जित दिलाएका थिए।

इंग्ल्यान्डले पहिलोपटक ६ सिरिजमा पहिलो टेस्ट खेल जितेको छ। साथै, टोलीले बिहीबारबाट शुरू हुने दोस्रो टेस्ट जितेमा पाकिस्तानमाथि १० वर्षमा पहिलो सफलतासमेत प्राप्त हुनेछ। शनिबारको खेलमा इंग्ल्यान्डले दबाबबाट शुरू गरेको थियो। पहिलो दुई दिनमा इंग्ल्यान्डको प्रदर्शनमाथि आलोचना भएको थियो। पाकिस्तानका ब्याट्सम्यान सान मसुदले १ सय ५६ रन बनाएपछि इंग्लिस कप्तान जोए रुटको रणनीतिमाथि प्रश्न चिह्न उठेको थियो।

तर, पाकिस्तानको दोस्रो इनिङ कमजोर बनेपछि बटलर र वोक्सको साभेदारीले इंग्ल्यान्डको जित सुनिश्चित भएको थियो। उनीहरूले इमिरेट्स ओल्ड ट्राफोर्ड मैदानमा इंग्ल्यान्डलाई दोस्रो ठूलो लक्ष्य पार गर्न सहयोग गरेका थिए। यसअघि यासिर शाहले २ तथा नसिम शाह, साहिन अफरिदी र मोहम्मद अब्बासले एक–एक विकेट लिएर पाकिस्तानलाई राम्रो अवस्थामा राखेका थिए।

कप्तानका कारण हार
इंग्ल्यान्डविरुद्धको टेस्ट हारेपछि पाकिस्तानका पँर्वक्रिकेटरहरू रिसाएका छन्। पूर्वकप्तान अलराउन्डर साहिद अफरिदीले पाकिस्तानले हारेको विश्वासै गर्न नसकेको बताएका छन्। उनले भने– ‘यस्तो मौका खराब गर्न हुँदैनथ्यो।’ पूर्वकप्तान वसिम अकरमले कप्तान अजहर अलीलाई जिम्मेबारी ठहराएका थिए। उनले भने–‘ हार्नु या जित्नु खेलको नियम हो, तर कप्तानले धेरैपटक गल्ती गरेका थिए। जसले गर्दा टिमले हार्नुपरेको हो।’