च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा


लन्डन, (एजेन्सी)
यस सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ।
कोरोना भाइरसका कारण झन्डै पाूच महिना स्थगित प्रतियोगिता सुचारु भएपछि क्वार्टरफाइनल पुग्ने टोलीको पनि आइतबार बिहान टुंगो लागेको हो।

कोराना महामारीका कारण स्थगित अन्तिम १६ का बाँकी रहेका चार खेल भएपश्चात् अन्तिम आठमा पुग्ने सम्पूर्ण टोलीहरूको टुंगो लागेको हो। आइतबार बिहान दुई खेल सकिएपछि अन्तिम ८ मा पुग्ने टोलीले आ–आफ्नो प्रतिद्वन्दी पाएका छन्। जसअनुसार अन्तिम आठमा स्पेन, फ्रान्स, जर्मनीका दुई क्लब–क्लब पुगेका छन् भने इटाली र इंग्ल्यान्डका एक–एक टोली छन्।

ती आठ टोलीहरूलाई दुई पोलमा राखिएका छन्। एकातिर आरबी लेइप्जिग, एट्लेटीको मेड्रिड, एटलान्टा र पीएसजी छन् भने अर्कोतिर बार्सिलोना बायर्न म्युनिख, म्यानचेस्टर सिटी र लियोनलाई राखिएको छ।

जसअनुसार बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्ने भएको छ। अन्तिम १६ को खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को जितसहित अन्तिम आठमा स्थान बनाएको हो। त्यस्तै, अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले पनि इंग्लिस क्लब चेल्सीलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को फराकिलो जितसहित अन्तिम आठमा स्थान पाएको छ।

यसपटक क्वार्टरफाइनलमा यी दुईबीचको भिडन्तलाई सबैभन्दा रोचक भिडन्तको रूपमा हेरिएको छ। यस सिजन उत्कृष्ट लयमा रहेको बार्यनलाई प्रमुख च्याम्पियन्स लिगको उपाधि दाबेदार मानिएको छ। समूह चरणबाट अन्तिम आठसम्मको यात्रा हेर्दा बायर्नले तीव्र गतिसहित सन्तुलित फुटबल पस्किरहेको छ।

यस सिजन करियरकै सानदार लयमा रहेका पोलिस स्ट्राइकर रोवर्ट लेवान्डोस्कीको टिम बार्यनले यसपटक उचारचढावपूर्ण रहेको लिओनल मेसीको कप्तानीमा रहेको बार्सिलोनाको चुनौती सहजै पन्छ्याउने अनुमान गरिएको छ। क्वार्टरफाइनलसम्म बायर्नको प्रदर्शनलाई हेर्दा हरेक खेलमा संघर्ष गरिरहेको बार्सिलोनाका लागि बायर्नको चुनौती सहज हुने छैन।

त्यसैगरी, इटालियन टोली एट्लान्टा र फ्रेन्च च्याम्पियन पीएसजीको खेल पनि प्रतिस्पर्धात्मक नै बन्नेछ। नेयमारसहितको पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको नकआउट खेलिरहेको एट्लान्टाले बलियो चुनौती पेस गर्ने पक्का छ।

अर्को खेलमा फ्रेन्च टोली लियोनले पनि बलियो इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीको चुनौती पाएको छ। यो खेलमा सिटीको वजन भारी हुने आंकलन गरिएको छ। यदि, क्वार्टरफाइनलमा सिटीले जितेमा बायर्न र बार्सिलोनाबीचको बिजेतासँग सेमिफाइनल खेल्नेछ। जसलाई फाइनल सरह नै हेरिएको छ।

क्वार्टरफाइनलअन्तर्गत अर्कोपोलमा रहेको जर्मन क्लब लेइप्जिग र स्पेनिस टोली एट्लेटीको मेड्रिडबीच हुने खेलमा एट्लेटीकोलाई अन्तिम चारमा जाने टोलीका रूपमा हेरिएको छ। क्वार्टरफाइनल खेलहरू अगस्ट १२ अर्थात् आगामी बुधबार रातिबाट शुरू हुनेछन्। यसअघि खेलाउँदै आएको दुई लिगका खेलहरू यसपटक भने हुने छैनन्। यसपटक क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू एकपटक मात्र खेलाइने छ।

जसअनुसार क्वार्टरफाइनलका ४ खेल ४ दिनमा सकिनेछन्। प्रत्येक दिन एउटा खेल हुनेछ। अगस्ट १२ बाट शुरू हुने क्वार्टरफाइनल अगस्ट १६ मा सकिनेछ। क्वार्टरफाइनलका सम्पूर्ण खेलहरू पोर्चुगलको राजधानी लिस्बनको एउटै रंगशालामा हुनेछ।