टाउकोविनाको शवको पहिचान हुन सकेन


काठमाडौं, (नेस)
गोंगबुको गणेशस्थान नजिकै फेला परेको हातखुट्टाविहीन रुपमा फेला परेको शवको बारेमा प्रहरीले गहन अनुसन्धान शुरु गरेको छ । सुटकेसभित्र फेला परेको उक्त शवबारेमा प्रहरीले अपराधीको खोजी शुरु गरेको जानकारी दिएको छ ।

प्रहरीले रातो प्लास्टिकले बेरेर फ्याँकेको अवस्थामा सुटकेस फेला परेपछि शवको पहिचान गर्न र अपराधी पत्ता लगाउन विषेशज्ञ टोली गठन गरेर अनुसन्धान शुरु गरेको छ ।

स्थानीयले बेवारिसे शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले सुटकेशको वरपर रगतको टाटा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले अहिले अनुसन्धानलाई तीव्र बनाएको छ ।

उक्त सुटकेस फेला परेपछि प्रहरीले हातखुट्टा नभएको शव फेला पारेको थियो । त्यसपछि तालिम प्राप्त कुकुरलाई ल्याएर खोज्दा सुटकेस भएको ठाउँभन्दा पर टाउको र हात फेला पारेको थियो । प्रहरीले शवको पहिचान गर्न नसकेका कारण अपराधीसम्म पुग्न नसकेको महाशखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

उहाँले शव पहिचानका लागि अहिले हामीले स्थानीय निकायलाई भनेका तथा शव पहिचान हुनासाथ अपराधीको बारेमा जानकारी आउने भएकाले अपराधीको खोजीमा लागेको बताउनुभयो । प्रहरीले त्यहाँ वरपरको सीसी टिभी फुटेज हेरेर अपराधीको पहिचान गर्ने कामलाई तीव्रता दिएको उहाँको भनाइ छ ।

प्रहरीले घटनास्थलका बारेमा खोजी गरिरहेको र उक्त सुटकेस मध्यरातमा ल्याएर फ्याँकेको आशंका गरेको छ । प्रहरीले सुटकेश फ्याकेको ठाउँमा सेतो बोराको नाम्लोसमेत बरामद गरेको छ ।