जोखिम बेवास्ता गर्दै हेटौंडाका सरकारी कार्यालयमा सेवाग्राहीको भिड

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडामा कोरोना संक्रमित दिनप्रतिदिन थपिँदै गएको अबस्थामा निजी निकायका व्यबसायीलाई प्रशासनले कोरोनाबाट बच्न ‘पाठ’ सिकाइरहँदा सरकारी कार्यालयको भिडले भने गिज्याइरहेको छ । हेटौंडाका अधिकांश सरकारी निकायमा सेवाका लागि दिनप्रतिदिन सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । गत बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले कमाण्डपोष्ट बैठकबाट ब्युटीपार्लरसहित सैलुन, होटल तथा रेष्टुराँ बन्द गर्ने सूचना प्रकाशन गरेको थियो ।

सावधानी अपनाउँदै निजी व्यबसाय बन्द गर्दैगर्दा सरकारी निकायमा हुने सयौंको भिडलाई भने प्रशासनले देखे नदेखेझैं गरिरहेको छ ।सरकारले सामाजिक दुरी कायम गर्न र भिड नगर्न बारम्बार आग्रह गरिरहँदा यहाँका सरकारी कार्यालयमा मानिसको ठेलमठेल भिड जस्ताको त्यस्तै छ । तर, यसप्रति न नागरिक जिम्मेवार बनेका छन् न त सम्बन्धित सरकारी कार्यालयले नै सुरक्षाका न्यूनतम् मापदण्ड अपनाएका छन् ।

विशेषगरि हेटौंडाको कर कार्यालय, नापी, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयमा मानिसको ठेलमठेल भिड लागिरहेको छ । तर, यसबारे न प्रशासन कार्यालयले खबरदारी गरेको छ न त सेवाग्राही नै सचेत छन् । यसले गर्दा कोरोना संक्रमण फैलने खतरा देखिएको छ ।

निजी व्यबसायलाई भिड कम गर्न र नखोल्न अनुरोध गर्ने प्रशासनले आफैं सयौं सर्वसाधारणलाई ‘सेवा’ दिइरहँदा खतरा बढ्ने भन्नेबारे ध्यान नदिएको एक रेष्टुराँ व्यबसायीले गुनासो गरे । ‘सरकारी निकायमा जाने त जिल्लाभरका बासिन्दाको भिड हेरेर प्रशासन किन मौन रहेको ?,’ उनले आक्रोश पोखे ।

जिल्ला प्रशासन कार्यालय भने यस विषयमा उदासिन देखिएको छ । हेटौंडाका अधिकांश सरकारी कार्यालयमा भिड र ठेलमठेल लाइन भइरहँदासमेत प्रशासनले चासो दिएको छैन । मकवानपुरमा लकडाउन खुलेसँगै भारत र तराईका जिल्लामा निषेधाज्ञा जारी भएपछि अधिकांश मजदुर हेटौंडा भित्रिसकेका छन् । यसले गर्दा हेटौंडा कोरोनाको उच्च जोखिममा छ ।

सरकारी कार्यालयमै सुरक्षाका न्यूनतम् मापदण्डसमेत पालना नगरिँदा र नगराइँदा अर्को ठूलो खतरा बढिरहेको छ । यस विषयमा जिल्ला प्रशासनले ध्यान नदिनु दुःखदायी कुरा हो । यस्ता लापरबाहीका कारण हेटौंडामा कोरोना संक्रमण समुदायस्तरमा फैलिन धेरै समय लाग्दैन । यसबारे सम्बन्धित निकायले कहिले ध्यान दिने ?