युभेन्ट्स र रियललाई जित्नैपर्ने दवाब

0
Shares

एजेन्सी । कोरोना महामारीका कारण गत मार्चबाट स्थगित युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग लामो समयको विश्रामपछि आजबाट सुचारु हुँदैछन् । झन्डै पाँच महिनापछि सुचारु हुन लागेको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत अाजबाट दोस्रो लेगका खेलहरू सुरु हुँदैछन् ।

आज दुई खेल हुँदैछन् । जसअन्तर्गत युभेन्ट्स र लियोन तथा म्यानचेस्टर सिटी र रियल मेड्रिडबीच खेल हुँदैछ ।आज हुने दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछन् । अर्को चरणमा प्रवेशका लागि आज हुने खेलमा युभेन्ट्स र रियललाई जित्नैपर्ने दवाब रहेको छ ।

इटालियन सिरी ए च्याम्पियन युभेन्ट्स र फ्रान्सेली क्लब लियोनबीच युभेन्ट्सको घरेलु मैदानमा खेल हुँदैछ । यो खेलमा घरेलु टोलीमाथि जित्नैपर्ने दवाब छ । यसअघि लियोनको मैदानमा भएको पहिलो लेगको खेलमा युभेन्ट्स लियोनसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

त्यसैले अर्को चरणमा प्रवेश गर्नका लागि युभेन्ट्सले कम्तिमा पनि २–० गोलअन्तरको जित निकाल्नु पर्नेछ । त्यस्तै, आज नै हुने अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मेड्रिडसँग खेल्नेछ । यो खेल सिटीको मैदान इत्तिहादमा हुनेछ ।

गत फेब्रुअरीमा रियलको मैदान सान्टियागोमा भएको पहिलो लेगको खेल २–१ गोलअन्तरले हारेका कारण यो खेलमा रियललाई जित्नैपर्ने दवाब छ । यता, सिटीलाई भने क्वार्टरफाइनल प्रवेशका लागि बराबरी नै पर्याप्त हुनेछ ।