इन्टरमिलान युरोपा लिगको क्वार्टरफाइनलमा

0
Shares

मिलान, (एजेन्सी)
रोमेलु लुुकाकु र क्रिस्टियन इरिकसेनको गोलको सहयोगमा इन्टरमिलानले गेटाफेलाई २–० ले हराएर युरोपा लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर लुकाकुले ३३औं मिनेटमा एलेसान्ड्रो बास्टोनीको पासमा गोल गर्दै इन्टरलाई १–० को अग्रतामा राखेका थिए। गेटाफेका जर्ज मोलिनाले दोस्रो हाफमा पेनाल्टी गोल गर्न नसक्दा इन्टरको अग्रता यथावत् रहेको थियो। भिडियो एसिस्टेन्ट रेफ्री (भार) मा इन्टरका डिएगो गोडिनको ह्यान्ड बल भएपछि गेटाफेले पेनाल्टी प्राप्त गरेको थियो। तर, त्यो सदुपयोग हुन सकेन।
खेलको ८३औं मिनेटमा इरिकसेनले थप गोल गरेपछि इन्टरमिलानको अन्तिम आठ यात्रा तय भएको थियो। गेटाफेका डिजेन डाकोनामले क्लियर गर्न खोजेको बल सही नहुँदा त्यसको फाइदा इरिकसेनले लिएका थिए। २–० मा खेल समाप्त भएपछि इन्टरकोे प्रतियोगितामा यात्रा लम्बियो भने गेटाफे प्रतियोगिताबाट बाहिरिएको छ।
इटाली सिरी ए टोली इन्टरमिलानको यो २०१०–११ सिजनपछि सबैभन्दा राम्रो सिजन सावित भएको छ। हालै सम्पन्न २०१९–२० सिरी ए सिजनमा इन्टरमिलान दोस्रो स्थानमा रहेको थियो। त्यस्तै, युरोपेली प्रतिस्पर्धामा १० वर्षपछि पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको छ।
इन्टरमिलानका बेल्जियन स्ट्राइकर लुकाकुले पछिल्ला ८ युरोपा लिग खेलमा गोल गरेका छन्। योसँगै उनले पूर्वन्युक्यासलका स्ट्राइकर एलान सिररसँग कीर्तिमान बराबर पनि गरेका छन्। यसैगरी, लुकाकुको पूर्वक्लब म्यानचेस्टर युनाइटेडले पनि युरोपा लिगको अन्तिम आठको यात्रा तय गरेको छ। युनाइटेडले उसकै घरेलु मैदान ओल्ड ट्राफोर्डमा एक गोलले पछिको स्थिति उल्टाएर लास्कविरुद्ध २–१ को जित निकालेको थियो। यसअघि पहिलो लिगमा युनाइटेडले सोही प्रतिद्वन्द्वीविरुद्ध ५–० को जित हात पारेको थियो।
खेलमा एन्थोनी मार्सियलले बेन्चबाट आएर खेल सकिन ४ मिनेट बाँकी हुँदा विजयी गोल गरेका थिए। उनले जुआन माटाको सहयोगमा १० यार्डबाट गोल गर्न सफल भएका थिए। यो उनको सिजनको व्यक्तिगत २३औं गोल थियो। यसअघि माटाकै सहयोगमा जेसी लिन्गार्डले बराबरी गोल फर्काएका थिए।
युनाइटेडले १० अगस्टमा हुने क्वार्टरफाइनल खेलमा डेनमार्कको टोली एफसी कोपेनहेगनसँग खेल्नेछ। कोपेनहेगनले इस्तानबुल बासाकसेहरलाई अन्तिम १६ को दोस्रो लिगमा ३–० ले हराएको थियो। यसअघि पहिलो लिगमा कोपेनहेगन इस्तानबुलसँग १–० ले हारेको थियो। कोपेनहेगनको जितमा जोनास विन्डले दुई गोल गरेका थिए।
त्यस्तै, युक्रेनी टोली साख्तार डोनेटस्कले पनि अन्तिम ८ को यात्रा पक्का गरेको थियो। साख्तारले कीएभमा वोल्फसबर्गलाई ३–० ले हराएर समग्रमा ५–१ को अग्रतासँगै अन्तिम ८ मा पुग्न सफल भएको थियो।