नेकापा विधिमा चल्दैन ?



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षको आन्तरिक विवादको कारण पार्टी फुट्ने हो कि भन्ने आशंकाले कार्यकर्ता र समर्थकहरु चिन्तित देखिन्छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको एकोहोरो ढिपी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानको कारण निकास शून्यको स्थिति सिर्जना भएको छ ।

पार्टी मिलाउने र फुटबाट जोगाउने जिम्मा लिएका दुई अध्यक्षले आ–आफ्नो गुटका फरक–फरक नेताले दुवै पक्षलाई मिलाउन नभै उचाल्न थालेको कारण पनि पार्टीभित्र संकट बढ्दै गएको छ ।

विवाद मिलाउने जिम्मेवारी लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको सन्देश लिएर बालुवाटारबाट, खुमलटार र कोटेश्वर पुग्ने गरेका पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको पहल निरर्थक देखिएको छ ।

कोरोना संक्रमणले थिलथिलो पार्ने अवस्थामा पुगेको मुलुकलाई जोगाउने भन्दापनि नेकपाभित्र दुई अध्यक्षबीचको विवाद उत्सर्गमा पुगेको कारण मुलुक थप संकटमा नपुग्ला भन्न सकिदैन ।

अध्यक्षद्वय ओली र दाहालले साउन १३ गते बालुवाटारमा छुट्टाछुट्टै बैठक गरेदेखि दुई अध्यक्षबीच थप तनाब बढेको थियो । त्यसपछि ओलीको पक्षबाट नेम्वाङ र दाहालको पक्षबाट प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी राखेर बसेको बैठक सार्थक हुनसकेन । पार्टीमा प्रधानमन्त्री ओलीलाई महासचिव पौडेल उपनेता नेम्वाङ लगायतले साथ दिइरहेका छन् भने प्रचण्डलाई पूर्वप्राधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ ।

दुवै अध्यक्षसँंग नजिक रहेको देखाउने उपाध्यक्ष वामदेव गौतमले भित्रभित्रै शक्ति आर्जन गरेको देखिन्छ । प्रधानमन्त्री ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ । दाहालले भने बहुमतको निर्णय मान्नुपर्ने भन्दै एकपद छाड्नैपर्ने अडान राखिरहनु भएको छ । अध्यक्ष दाहालले पार्टी विवाद पदको लागि नभएर विधि र पद्धतिको लागि भएको बताउँदैआउनुभएको छ ।

ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको आरोप लगाउँदै पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा भएको नाराबाजीजस्ता गतिविधि त्यसको प्रमाण भएको दाबी गर्नुभएको थियो ।

अध्यक्ष दाहालले त्यसो भनिरहँदा अध्यक्ष ओलीप्रति आक्रोशित हुदै पूर्व प्रधानमन्त्रीद्वय नेपाल र खनालले ओलीले चरम गुटबन्दी गरिरहेको, पार्टीको विधान र पद्धतिअनुसार पार्टी चलाउन नसकेको आरोप लगाउनुभएको थियो । प्रचण्डकै पदचिन्ह पछ्याउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले लडाइँ नरहेको भन्दै विधिअनुसार चल्न मात्र खोजेको बताउनुभएको छ ।

यसरी एक–अर्काबीच आरोप–प्रत्यारोप चलेपछि पार्टी कुन अवस्थामा पुग्छ भन्ने विषयमा दोस्रो तहका नेताहरु चिन्तित देखिन्छन् । दशकौं एमाले र नकपा माओवादीको नामबाट राजनीति गर्दैआएका नेता–कार्यकर्ताका लागि यो ठूलो चिन्ताको विषय बन्नु स्वाभाविक पनि हो । विधि र पद्धतिअनुसार पार्टी चलाउन आग्रह गर्दै एक सय ५२ जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरी दुई अध्यक्षलाई पत्र बुझाइसकेका छन् । यसले पार्टी अहिले विधिसम्मत ढंगले नचलेको पुष्टि गरेको छ । विधिमा फर्किनु मात्र समस्याको समाधान देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्