टेबलटेनिसको अभ्यास पनि शुरू

0
Shares

काठमाडौं, (नेस)
कोरोना भाइरसका कारण नेपालको खेल जगत् ठप्प नै छ। तापनि, केही खेलको अभ्यास भने शुरू हुँदै छ। बुधबारदेखि टेबलटेनिसको अभ्यास शुरू भएको छ। यसअघि ब्याडमिन्टन, कराँते, बक्सिङका अभ्यासहरू पनि शुरू भइसकेका छन्। फुटबलको पनि भाद्र १ गतेदेखि प्रशिक्षण शुरू हुने भनिएको छ। फुटबल विश्वकप छनोट खेलका लागि मात्रै प्रशिक्षण शुरू हुन लागेको हो। त्यस्तै, क्रिकेटका लागि पनि कीर्तिपुर मैदानमा खेलाडीहरू अभ्यास गर्दै छन्।
राष्ट्रिय खेलकुद परिषद्को निर्देशनअनुसार टेबलटेनिस संघ र संघका मुख्य प्रशिक्षक सन्जिवकुमार ढुंगेलबीचको छलफलपछि टेबलटेनिसको अभ्यास शुरू भएको हो। कोभिड–१९ का कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष र महिला सिंगल्सतर्फ प्री क्वार्टरफाइनलसम्म पुग्ने खेलाडीलाई अभ्यासका लागि प्रवेश गराइएको छ। तर, हिजो दुई जनामात्रै प्रशिक्षणमा सहभागी भएका थिए, जसमा रविना महर्जन र सोनु थापामगरले प्रशिक्षण लिएका छन्।
संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले भने– ‘हामीले महिला र पुरुष समान ८÷ ८ जना गरी १६ जनालाई प्रशिक्षण दिन डाकेका थियौँ। तर, दुईजना मात्र उपस्थित हुनुभयो। आज चाहिं अरू खेलाडी पनि आउन सक्ने सम्भावना छ। हामीले कोभिडका कारण धेरैजना राखेर प्रशिक्षण गराएनौं। समय नै यस्तो डरलाग्दो छ, भीडभाड नगरी सावधानी अपनाएर प्रशिक्षण शुरू गरेका छौं।’