लन्डन, (एजेन्सी)
ला लिगा टोली भेलेन्सियाका विंगर फेरान टोरेस प्रिमियर लिग टोली म्यानचेस्टर सिटीमा अवतरण भएका छन्। सिटीले टोरेसका लागि ५ वर्षे सम्झौतामा २३ मिलियन युरो रकममा अनुबन्ध गरेको हो। उनी समरका पहिलो अनुबन्ध भएका खेलाडी हुन्। उनले जर्मनीका फरवार्ड लेरोए सानेको स्थान लिनेछन्। सानेले बुन्डेसलिगा विजेता बायर्न म्युनिखका लागि ३ जुलाईमा सिटी छाडेका थिए।
यस्तै, प्रिमियर लिग विजेता टोली लिभरपुलले नर्विच सिटीका लेफ्ट ब्याक जमाल लेबिसलाई अनुबन्ध गर्न चासो देखाएको छ। जमालका लागि १० मिलियन पाउन्ड रकम छुट्याएको छ। नर्दन आयरल्यान्डका २२ वर्षीय डिफेन्डरले प्रिमियर लिग २०१९–२० सिजनमा २८ खेलमा सहभागिता जनाएका थिए। नर्विच यस सिजनमा रेलिगेसनमा परेको टोली हो। लिभरपुलले क्रोएसियाका सेन्टर ब्याक डेजान लोभरेनलाई जेनिट सेन्ट पिटर्सबर्गलाई १० दशमलव ९ मिलियन पाउन्डमा बेचेको थियो।
यसैगरी, अर्को प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले बोरुसिया डर्टमन्डका युवा स्ट्राइकर जाडोन सान्चोसँगको सम्झौता मिलेको बताएको छ। तर, बीबीसी स्पोर्टले भने ‘यी दुई टोलीबीचको सम्झौता अझै टुंगो नलागेको दाबी गरेको छ। रेड डेभिल्सको सान्चोलाई यस समरमा क्लबमा भिœयाउने पहिलो लक्ष्य रहेको छ।
डर्टमन्डले २० वर्षीय सान्चोका लागि १ सय मिलियन पाउन्ड मूल्य राखेको छ र १० अगस्टसम्म युनाइटेडलाई डेडलाइन दिएको पनि छ। कोरोना भाइरसको महामारीका कारण आर्थिक स्थिति डँमाडोल भएकोले युनाइटेडले त्यति रकम तिर्न हिच्किचाइरहेको छ ।
युनाइटेडले हालै मात्र पनि एलेक्सिस सान्चेजलाई इन्टर मिलानमा अनुबन्ध गराउन सहमति गरेको छ। सान्चेज इटाली सिरी ए इन्टर मिलानबाट हालै सम्पन्न सिजनमा ऋणमा खेलिरहेका थिए। इन्टरले चिलीका खेलाडीसँग प्रभावित भएर उनलाई स्थायीरूपमा अनुबन्ध गरेको हो।











प्रतिक्रिया