फुलहाम प्रिमियर लिगमा बढुवा

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगको अर्को सिजनमा खेल्ने तीन नयाँ टोलीको टुंगो लागेको छ। मंगलबार राति भएको च्याम्पियनसिप प्ले अफ खेलमा फुलहामले जित्दै प्रिमियर लिगमा बढुवा भएको छ। फुलहाम प्रिमियर लिगमा बढुवा हुने तेस्रो टोली हो। यसअघि लिड्स युनाइटेड र वेस्ट ब्रोम च्याम्पियनसिपमा शीर्ष दुई टोलीमा रहँदै प्रिमियर लिगमा बढुवा भएका हुन्।
फुलहामले ब्रेन्टफोर्डलाई वेम्बली रंगशालामा २–१ ले हराएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि अतिरिक्त समयमा खेल लम्बियो र सोही समयमा तीनै गोल भएका थिए। विजेता टोलीका लागि दुवै गोल जोए ब्रायनले गरेका थिए। उनले १०५औं मिनेटमा अग्रता दिलाए भने ११७औं मिनेटमा थप गोल गरेर फुलहामलाई बढुवा गराएका थिए। ब्रेन्टफोर्टको तर्फबाट हेनरिक डाल्सगार्डले अन्तिम समयमा गोल फर्काए पनि फुलहामलाई जितबाट रोक्न सकेको थिएन।
फुलहाम २०१८–१९ सिजनमा प्रिमियर लिगबाट रेलिगेसन भएको थियो। तर, एक सिजनको ग्यापपछि पुनः टोली इंग्ल्यान्डको शीर्ष लिगमा पुनरागमन भएको छ। यसपटक तेस्रोदेखि छैठौं स्थानसम्म रहेका ब्रेन्टफोर्ड, फुलहाम, कार्डिफ सिटी र स्वान्सी सिटीबीच प्लेअफ प्रतिस्पर्धा भएको थियो। जसमा फुलहामले बाजी मार्न सफल भएको छ।