सच्चिने प्रतिवद्धताको संकट



काठमाडांै, भक्तपुर, ललितपुर, वीरगञ्ज लगायतका घना बस्ती भएका शहरमा कोरोना संक्रमणको चाप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेताहरुका साथ जनस्वास्थ्यविज्ञहरु समेतलाई बोलाई पुनः लकडाउन गर्ने विषयमा छलफल गर्नुभएको छ । तर सरकारलाई हचुवामा पहिलाजस्तो लकडाउन नगर्न सबैले राय दिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले सरकारलाई सात बुंँदे सुझाव दिनुभएको छ । जनस्वास्थ्यविज्ञ र प्रतिपक्षी दलको सुझावकै आधारमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि नयाँ नीति बनाउने प्रतिबद्धता गर्नुभएको छ । तर, राय मिश्रित आएकाले सरकारले कस्तो नीति बनाउँछ भन्ने आम नागरिकको चासोको विषय बनेकोछ ।

देउवाले पार्टीको तर्फबाट दिनुभएको सुझावमा हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा, स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन र कार्वाही, आरडीटी परीक्षणको अन्त्य, तत्काल एकलाख नयाँ पिसिआर परीक्षणको व्यवस्थाका साथै स्वास्थ सामग्रीको पर्याप्त प्रवन्ध गरी औषधि आयातमा तदारुकता, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध, मापदण्डअनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापनको सुझाव दिनु जनहितमा छ ।

विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पु¥याउने व्यवस्था, नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल गर्ने प्रमुख छन् । मास्क अनिवार्य र चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग हुनुपर्ने पनि सुझाव प्राप्त छ ।

उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्नुपर्ने, जायज माग अघिसारेर आमरण अनशन बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरी उनीहरुको जीवन रक्षा गर्नुपर्ने र वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गर्नुपर्ने सुझावलाई प्राथमिकताका विषय बनाइयोस् भन्ने सुझाव पनि दिइएको छ ।

प्रधानमन्त्री ओलीले महामारी रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्नु पर्ने वताउदैे स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै कमजोर रहेको अवस्थामा पनि आवश्यक प्रवन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गर्नुभएको छ ।

प्रतिदिन १८ हजार जनासम्मको पीसीआर परीक्षण गर्नसक्ने ल्याब स्थापना गरिएको र हालसम्म ४ लाख जनाको परीक्षण गरिएको जानकारी पनि गराइएको छ । सुझावमा पूर्ण संक्रमण फैलिएको स्थानलाई रेडजोन, कम संक्रमित क्षेत्रलाई यल्लो र नभएको क्षेत्रलाई ग्रीनमा राखी दैनिक कामलाई क्रमशः चल्नेगरी विगतको भन्दा फरक तरिकाको लकडाउन तत्काल अघि बढाउन सुझाव दिइएको छ ।

प्रधानमन्त्री ओली स्वयं सक्रिय भएर कोरोना संक्रमण नियन्त्रण गर्न चासो दिनु स्वागतयोग्य छ । तर, विगतका सम्पूर्ण कमजोरीको सम्बोधन नहुने होभने सुझाव लिने कार्य एक नाटक मञ्चनमा मात्र सीमित हुनेछ । प्रधानमन्त्री स्वयं डाक्टर बनेर प्रस्तुत हुने अभ्यासमा पनि सुधार ल्याउनु आवश्यक छ भने कोरोना मथेर घिउ खाने मानसिकताका आसेपासेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । अन्यथा पुनः–पुनः लकडाउन गरेपनि कोरोना संक्रमण ‘डाउन’ हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्