९ महिनामै उप्कियो कालोपत्रे, ठेकेदार र कम्पनीलाई कारवाहीबाट उन्मुक्ति

0
Shares

लिला सुनुवार,ओखलढुंगा ।

ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे कामै नलाग्ने गरेर उप्किएपछि डोजर लगाएर भत्काउन थालिएको छ । ९ महिनाअघि बिछ्याएको कालोपत्रे उप्किएपछि ठेकेदार कम्पनीलाई कारवाही गर्नुको साटो त्यही कम्पनीलाई पुनःकालोपत्रे गराउन भत्काउन थालिएको छ ।

एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत सञ्चालित रमाइलोडाँडा रुम्जाटार सडकको अधिकांश भागको कालोपत्रे बिच्छ्याउने बित्तिकै उप्किएको थियो । कालोपत्रे उप्किएपछि कार्यालयले ठेकेदार कम्पनीलाई पुनः कालोपत्रेको काम थाल्न निर्देशन दिएको छ । कार्यालयको निर्देशनसँगै ठेकेदार कम्पनीले पुनः कालोपत्रेको काम गर्न सिस्नेखोला, वर्णालु, सानीटारलगायतका खण्डमा डोजर लगाएर उप्किएको कालोपत्रे हटाउन थालेको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्वधारकार्यालयका इन्जिनियर सरोज केसीले बताए ।

१८ महिनामै सक्नेगरी २०७४ सालमा काम थालिएको भएपनि यो सडकमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर ढिलाइ गरेको थियो । यो सडकको केही अफ्ट्यारा भागमा कालोपत्रे गरिएकै थिएन । कालोपत्रे गरिएको भनिएको सडकका केही भागमा हिलैहिलो जमेको छ । सडकमा ठेकेदारको लापरवाहीको कारण डीबीएसटी कालोपत्रेको काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ । कार्यालयले भने भारी वर्षा, डीबीएसटी नटिक्ने माटो र भूगोलका कारण डीबीएसटी कालोपत्रे उप्किएको जनाएको छ ।