कोरोना भाइरस चिनियाँ सैन्य ल्याबमा बनेको दावी

0
Shares

वासिंगटन (एजेन्सी) ।

चीन प्रशासित हंगकंगबाट भागेर अमेरिका पुगेका हंगकंग स्कुल अफ पब्लिक हेल्थका वरिष्ठ वायरोलोजिस्ट डाक्टर ली मेंग यानले कोरोना भाइरस चीनको सैन्य प्रयोगशालामा बनाइएको दावी गरेकी छन् ।

उनले यस खतरनाक भाइरस चीनको वेट मार्केटबाट उत्पत्ती सम्बन्धी धारणालाई पनि खारिज गरेकी छन् । उनको दावीलाई चीनले ठाडै अस्विकार गरेको छ । एक लाइभ स्ट्रिम साक्षात्कारका क्रममा डाक्टर ली मेंगले भने, जब यो महामारी फैलिन शुरु भयो तब मैले स्पष्ट रुपमा मुल्यांकन गरेकी थिएँ कि यो भाइरस चिनियाँ कम्युनिस्ट पार्टीको एक सैन्य प्रयोगशालाबाट आएको थियो । यसलाई लुकाउन वुहान वेट मार्केटको कहानी बुनिएको थियो ।

आफुले यसको सुचना वरिष्ठ अधिकारीहरुलाई दिएकी तर उनीहरुले यसलाई गम्भिरता पुर्वक नलिएको र त्यसमा ध्यान दिन आवश्यक नठानिएको डाक्टर ली मेंगले बताए । चिनियाँ कम्युनिस्ट पार्टीका लागि उनको रिपोर्ट अस्विकार गर्न कठिन हुने उनले दावी गरे ।
चिनियाँ कम्युनिस्ट पार्टी विरुद्ध बोलेपछि जो कसैलाई पनि गायब पार्न सक्ने कुरा आफुलाई थाहा भएको र त्यसैले आफुले सबै जानकारी संकलन गर्न शुरु गरेको थियो ।

वायरोलोजिस्ट डाक्टर ली मेंग अप्रिलमा हंगकंगबाट अमेरिका पुगेकी थिइन् । चिनियाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत आफु पक्राउ पर्ने डरले सताइरहेको उनले बताइन् ।