ओली राजीनामा देऊ/नदेऊ



जनार्दन घिमिरे

एउटा गाउँमा साह्रै छट्टु अनि धुर्त कुकुर र ढाडे बिरालो बस्थे । गाउँलेलाई धेरै दुःख दिएकाले यिनीहरुलाई कसैले मन पराउँदैनथे, जसले गर्दा यी दुवैलाई खानपिनमा समेत समस्या पर्दै गएको थियो । भोकभोकै बस्नुपर्ने अवस्था आएपछि जातैले कहिल्यै नमिल्ने भए पनि एकदिन कुकुरसँग गएर बिरालोले भनेछ– अब हामी दुवै मिलेर कुनै जुक्ति निकालेनौं भने खानै नपाएर मर्ने दिन आउन धेरै कुर्नुपर्ने छैन । बिरालोलाई देख्नेबित्तिकै धेरै पटक झुक्याएकाले कुकुरको पारो त चढिसकेको थियो तर उसले भनेको कुरामा सत्यता भएकोले आफ्नो रिसलाई नियन्त्रण गर्दै कुकुरले भन्यो– के गर्ने त खै ? कुनै जुक्ति छ भने गरौं । विरालोले आफ्नो जुक्ति सुनायो । अर्को कुनै उपाय नभएकोले कुकुर पनि त्यसमा सहमत भयो ।

त्यस गाउँमा कुखुरापालन गरेर बसेको एउटा परिवार बजारमा कुखुरा बेचेर आफ्नो खर्च चलाउँथे । भोलिपल्ट बजार लाग्ने दिन परेको थियो । बजार जाने बाटोमा एकठाउँमा केही झाडी र अलि सुनसान परेको थियो । बिरालोको जुक्तिअनुसार कुखुरा बोकेर आएकाहरु त्यो ठाउँमा आउनासाथ झाडीमा लुकेर कुकुरले बाघको जस्तो आवाज निकाल्ने अनि बिरालोले बेस्सरी झाडी हल्लाउने भन्ने थियो । कुखुरा बोकेर आएकाहरु सुनसान ठाउँमा बाघको आवाजसँगै झाडीसमेत हल्लिएको देखेपछि ज्यान जोगाउन भन्दै कुखुराको भारी त्यहीँ फालेर कुलेलाम ठोके । कति दिनदेखि खान नपाएका कुकुर र बिरालो, आफ्नो अगाडि कुखुराको हूल देखेपछि नाच्न थाले ।

यत्तिकैमा बिरालोले भनेछ– अब त हामीलाई महिनौं पुग्ने खुराक भइहाल्यो, अब त मस्ती नै मस्ती छ तर पहिले यिनीहरुलाई ऊ त्यो ठूलो बरको रुखमा लगेर राख्यौं भने कसैले देख्दैन अनि त सुरक्षितसाथ आनन्दले मोज गरौंला । कुकुरलाई बिरालोको यो भनाइ जायज नै लाग्यो । दुवै मिलेर कुखुरालाई बरको रुख भएको ठाउँसम्म पु¥याए । रुखमाथि चढेर बिरालोले भन्यो– तिमी तलबाट कुखुराहरु देऊ, म माथि मिलाएर राख्छु अनि आनन्दले चाहिए जति झार्दै दुवै मिलेर खाउँला । कुकुरले पनि सबै कुखुरा बिरालोलाई समात्न दियो । सबै कुखुरा माथि पु¥याइसकेपछि बिरालो आनन्दसँग एउटा ठूलो हाँगामा अडेस लागेर बस्यो र एउटा कुखुरा तानेर खान थाल्यो ।

तलबाट कुकुरले आफूलाई पनि दिइहाल्ला नि भनेर एकछिन्सम्म त बाटो हे¥यो तर बिरालोले दिने छाँटकाँट नदेखेपछि ऊ तलबाट कराउन थाल्यो । बिरालो केही नसुनेझैँ गरी मस्तिसँग खाँदै रमाउँदै गर्न थाल्यो । जब कुकुर धेरै कराउँथ्यो अनि बिरालोले कुखुराको खुट्टो, पखेटो अनि भुत्लाभुत्ली झारिदिन्थ्यो । कुकुर भने आफूलाई धोका दिएको भन्दै कहिले मुर्मुरिन्थ्यो त कहिले बिरालोले माथिबाट जे दियो त्यसैमा चित्त बुझाउँथ्यो ।

झन्डै तीन महिनादेखिको नेकपाको झगडा माथिको प्रसंगभन्दा पटक्कै भिन्न होइन । अराजकता र दिशाहीन अवस्थाबाट हतास भएका नेपालीलाई एकता, स्थायित्व, विकास र समृद्धिको सपना देखाउँदै तत्कालीन एमाले र माओवादी मिलेर चुनाव लडे, दुवै पार्टीका अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकमल दाहालले मिलेर पार्टी चलाउने अनि सरकारको नेतृत्व पनि आधा–आधा समय गर्ने भन्दै सहमति गरेर पार्टी एकीकरणसमेत गरे तर त्यही सहमति र सहकार्यको आधारमा जब ओली शक्तिमा आए उनले दाहाललाई धोका दिए । बुहारी बिना मगरलगायत दुई–चारजनालाई मन्त्री र बेलाबखत सरकारले गर्ने नियुक्तिमा ओलीको दयामा प्राप्त भागवण्डाका केही पदहरुमा नै दाहालले चित्त बुझाउनुपरेको छ ।

पहिले गरेको सहमति र आफूले पाएको धोका सम्झँदै दाहाल कहिले मुर्मुरिन्छन् त कहिले छटपटिन्छन् तर उनी यति विवश छन् कि केही गर्न सक्ने अवस्थामा छैनन् । पछिल्लो समय उनले माधव नेपाललगायतका गुटसँग मिलेर चलाएको ओलीको राजीनामा प्रसंग आम नेपाली जनताका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मातजस्तै हो । कुकुर र बिरालोले कुखुरो धनीलाई ठगेझैँ नेताहरुबाट नेपाली जनतालाई ठूलो विश्वासघात भएको छ, अतः उनीहरुमाथि विश्वासघात गर्नेहरुमध्येबाट को प्रधानमन्त्री हुने भन्ने कुराप्रति आमजनताको पटक्कै सरोकार देखिँदैन । के त्यसो भए आमनेपाली ओलीकै पक्षमा छन् त ? त्यो पनि देखिँदैन । आमनेपाली ओलीको पक्षमा भएका भए दुई वर्षअगाडि मात्र झन्डै दुई तिहाइ बहुमतका साथ गठन भएको सरकार आजको दिनसम्म आइपुग्दा केही दर्जन मानिस उफ्रिएको फोटो देखाउँदै त्यसैलाई जनसमर्थन भन्न बाध्य हुने थिएन ।

यो सत्य हो कि जनताले ओलीलाई विश्वास गरेर नै बहुमत दिएका हुन् तर उनको अनुहार हेरेर होइन, न त उनीलगायतले झापामा हत्या–हिंसा मच्चाएबापत उनको चौधबर्से जेल बसाइको लागि । विकास र समृद्धि भट्याएर नथाक्ने ओलीलाई जनताको मत उनले दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको घर–घरमा पाइपबाट आउने ग्यासको लागि, बेइजिङ–काठमाडौं रेलका लागि, उत्तरतर्फ कमसेकम सातवटा नाका खोल्नका लागि, हावाबाट बिजुली निकालेर स्याटेलाइटबाट बेचेर धनी हुनका लागि, सातवटा स्मार्ट सिटी बनाउनका लागि, काठमाडौंमा मेट्रो तथा मोनो रेल र देशभर विद्युतीय बस सञ्चालनको लागि थियो । दुई वर्षसम्म ओलीका हरेक भाषणमा पानीजहाजको बखान र टिकट काट्ने मितिसम्म तोकियो तर जब दुई वर्ष पुग्यो त्यो बेलादेखि उनको मुखबाट पानीजहाज गायब भयो । भ्रष्टाचारीको अनुहारै हेर्दिन भन्दै गफ हाँक्दै हिँडने तर विष्णु पौडेलदेखि गोकुल बास्कोटासम्म र वाइडबडीदेखि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेहरुको मुख्य संरक्षक उनै देखिएका छन् । उनको अधिकांश समय कि त स्वास्थ्य उपचारमा बितेको छ, कि त भ्रष्टाचारीलाई जोगाउन ।

कोही भोको पर्दैन, कोही भोको मर्दैन भन्दै चम्की–चम्की नारा दिने ओलीलाई जानकारी पनि छ कि छैन, सप्तरी कञ्चनपुरका मलर सदा लकडाउनको कारणले चार दिनदेखि घरमा चुल्हो नबलेपछि काम गर्दागर्दै खेतमै ढले र प्राण त्याग गरे, बर्दियाका जोधिराम लकडाउनको कारणले काम र मामविहीन भई अछामबाट हप्तौं हिँडेर आफ्नै घर बर्दिया आइपुगे । देशभित्रबाट आएकालाई घरमै क्वारेन्टाइनमा राख्ने विश्वव्यापी प्रचलन विपरीत उनलाई भारतबाट आएकाहरुसँग राखियो । हप्तौंदेखि खान नपाएका उनले त्यहाँ पनि खानपिन नपाएकै कारणले देह त्याग गरे ।

यसै गरी सप्तरी, कुलारी गाउँका फुदन सदा कामका लागि बाहिर गएको बेला उनका आठ वर्षीय छोरा कमल सदाको मृत्यु भयो । गाउँ डुबानमा थियो, कमलको ठूलो बुबाले कमललाई कम्मलमा बेरेर कोशीको धमिलो पानीमा बगाइदिए । कमलले आफ्नै जन्मथलोमा शरीर बिसाउनको लागि न त एक टुक्रो जमिन पाए, न त शरीर छोप्न एक थुप्रो माटो । तर ओली, सर्वहाराको नाममा राजनीति गरेका दिवंगत पति मदन भण्डारीको विरासतमा राष्ट्रपति बनेकी विद्या भण्डारीलाई विलासी जीवनका लागि एकसे एक सुख–सुविधा उपलब्ध गराएर महारानी बनाउन खोज्दै छन् भने राष्ट्रपति देखिने गरी एउटा दलको पनि एउटा गुटको स्वार्थ अनुकूलको निर्णय गर्दै राष्ट्रपति पदको गरिमालाई नै मानमर्दन गर्न लागिपरेकी छिन् । कहिले कसलाई फकाउने त कहिले कसलाई तर्साउने ओलीको खेलमा राष्ट्रपतिसमेत मुछिनुले एमालेको उपाध्यक्ष र राष्ट्रप्रमुखको भूमिका एवं मर्यादा फरक कुरा हुन् भन्ने समेत राष्ट्रपतिले नबुझेको देखिन्छ ।

हेपाहा शैली, अहंकार, ठूला–ठूला झुटमुटका गफ, विवेकहीनता अनि पाइलैपिच्छे भ्रष्टाचार र कमिसन यो सरकारको स्वभाव, शैली र योग्यता भएको छ । यसरी वर्तमान सत्ताले जनताको भावनासँग मात्र खेलबाड गरेको छैन कि लोकतान्त्रिक व्यवस्था अनि मुलुकको समेत अपमान गरिरहेको छ । दलीय व्यवस्थाको वकालत गरेर नथाक्ने नेपाली कांग्रेसले गिरिजाप्रसाद र शेरबहादुरको नेतृत्वमा जसरी बहुदलीय व्यवस्थालाई लाउडा, धमिजा, एलसीलगायतका काण्ड हुँदै महाकालीमा लगेर विसर्जन गराए, नयाँ जनवादको नाममा हजारौं हजारलाई बली चढाउने पुष्पकमल र बाबुरामहरुले जसरी कथित सर्वहाराको क्रान्तिलाई दिल्लीको बाह्रबुँदेमा लगेर टुङ्याए त्यसरी नै ओली नेतृत्वको वर्तमान सरकारको पालामा भएका एकसे एक भ्रष्टाचार, अन्याय, अराजकता, विवेकहीन अनि नैतिकहीन निर्णयहरु, ओम्नी तथा यतीको संरक्षकत्व तथा एमसीसी अनि नक्कली राष्ट्रवादले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विसर्जन गर्ने संकेतहरु देखिँदै छ ।

नेपालको लोकतन्त्रमा कानुन सबैको लागि बराबर हुन्छ र सबैले समान अवसर पाउँछन् भन्ने कुरा ओलीको शासनकालमा सबैभन्दा ठूलो भ्रम साबित भएको छ । वर्तमान नेपालको कानुन माकुराको त्यस्तो जालोजस्तो बनाइएको छ, जसमा स–साना कीराहरु त फस्छन् तर ठूला जनावरहरु यसलाई भत्काएर निस्कन्छन् भन्ने कुरा आमजनताले महसुस गर्दै छन् ।

आजको दिनमा जसरी प्रचण्ड–नेपाल समूह ओलीलाई नेतृत्वबाट हटाउन लागिपरेका छन्, त्यसरी नै आमनेपालीको चाहना पनि ओली रहिरहुन् भन्ने देखिँदैन । तर यी दुवैको चाहनामा आकाश–पातालको भिन्नता रहेको छ । प्रचण्ड–नेपाल समूह ओलीलाई हटाएर आफूहरु त्यो पदमा आसीन हुन चाहन्छन् । उनीहरु ओलीले अहिले जे गर्दै छन्, त्यही गर्न नपाएर छटपटिएका मात्र हुन् । तर आमनेपाली अन्याय, अत्याचार, अराजकता अनि स्वेच्छाचारिताको अन्त्यका लागि ओली नेतृत्वको वर्तमान सरकारको बहिर्गमन चाहन्छन् । जनताको चाहना अपराधी तथा भ्रष्टाचारीहरुलाई पाता कस्न सक्ने, बिचौलिया तथा कमिसनखोरहरुको पत्तासाफ गर्ने, भेद्भाव नगर्ने, व्यावहारिकरुपमा नै कानुनी राज्यको स्थापना गर्ने, राष्ट्रहितप्रति समर्पित सरकारको स्थापना हो ।

ओलीले उचाल्दा उचालिने र पछार्दा पछारिने पुष्पकमल दाहाल, माधव नेपाल वा झलनाथ खनाललाई पनि नेपाली जनताले प्रधानमन्त्रीका रुपमा देखिसकेकै हुन् । ओलीको ठाउँ यिनीहरुले नै लिने हुन् भने ओलीले राजीनामा दिऊन् कि नदिऊन्, आमनेपालीको सरोकारको विषय रहँदैन । जनता न ओलीका पक्षमा देखिन्छन्, न त प्रचण्ड–नेपाल समूहको पक्षमा । उनीहरु राज्य सञ्चालन प्रणालीलाई नै आमूल परिवर्तन गर्न सक्ने कुनै नयाँ शक्तिको प्रतीक्षामा रहेको आभास हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्