युवा जागिसके, अब केपी ओली पुस्तालाई नै विस्तापित गर्छन्



  • मिलन पाण्डे
    अध्यक्ष, विवेकशील नेपाली दल

मिलनपाण्डेजी, अहिलेको राजनैतिक परिस्थितिलाई अनि इनफ इज इनफ अभियानलाई कसरी हेर्नुभएको छ ?
–बर्बाद छ । कोरोना कहरले नागरिकमा मानसिक, सामाजिक, आर्थिक रुपमा निकै डिस्टर्ब छन् । सरकार छ भन्ने अनुभूति एकरत्ति पनि छैन । बरु उल्टो कुनै आयोजनाको कुरा आयो भने एउटा नागरिकको दिमागमा आउने पहिलो विचार भनेको ‘कति खायो होला?’ भन्ने नै हो । नागरिकहरुले सरकार छ भन्ने भुलिसकेका छन् । राजनीति अनि नेताहरुका क्रियाकलापबाट वाक्क छन् । यहि क्रममा स्वतन्त्र युवाहरुले ‘इनफ इज इनफ’ भन्दै आदोलन गरेका छन् । यो आन्दोलनले आशा सञ्चार गरेको छ । युवा जागेका छन् ।

इनफ इज इनफमा यहाँको पार्टीको संलग्नता कस्तो हो ?
–इनफ इज इनफ स्वतन्त्र युवाहरुको आन्दोलन हो । यो आन्दोलन युवाहरुको हो । हामी युवाहरुलाई प्रतिनिधित्व गर्ने दल हौँ । स्वाभाविकरुपमा हामीलाई मिडिया अनि नागरिकले जोड्छन् नै । फेरि, हामी संलग्न छैनौं भन्ने पनि होइन । यसमा विवेकशीलका नेताहरु प्नि स्वतन्त्ररुपमा संलग्न हुनुहुन्छ । उदाहरणका लागि पुकार बम विवेकशील नेपाली दलका संस्थापक नेता हुनुहुन्छ । उहाँ पहिलो सत्याग्रहको सत्याग्रही नै हुनुहुन्छ । अर्को पार्टीका नेता आलोक सुवेदी हुनुहुन्छ । उहाँहरु यो अभियानमा पार्टीको प्रतिनिधित्व गरेर उपस्थित हुनुभएको छैन । स्वतन्त्र नागरिकको हिसाबले हुनुहुन्छ त्यहाँ । यसको अर्को पाटो पनि छ । आजसम्म हामीले नागरिकलाई अगाडि राखेर पार्टी पछाडि बसेर नेतृत्व गरेका देखेकै छैनौं । हामी त्यो गर्न सक्ने साहस राख्ने दल हौँ । देश त नागरिकले बनाउने हो नि । त्यसैले विवेकशील नेपालीले सधैं नागरिकलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छ ।

बालुवाटारदेखिको आन्दोलनमा यहाँको संलग्नता थियो कि पछि जोडिनुभएको हो ?
–हामी बालुवाटारदेखि नै थियौँ । हामीले दलका हिसाबमा लकडाउन शुरु भएदेखि नै काम गरिरहेका थियौं । हामीले सचेतना कार्यक्रम ग¥यौं । महानगरपालिकामा पीपीई बाँड््यौं । स्थानीय तहसँग मिलेर राहतमा काम ग¥यौं । यी अभियान गरी नै रहेका थियौँ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा त स्वास्थ्यमन्त्रीविरुद्ध हाम्रा नेता रमेश पौड्यालले उजुरी नै दिनुभयो । त्यसैले कोरोना रोकथाम अनि नियन्त्रणमा हामी पहिलेदेखि नै काम गर्दै थियौं । यो अभियानमा हामी युवाहरुलाई पहिलो दिनबाट नै समर्थन गर्दै छौँ । अन्तिम दिनसम्म हुनेछौं ।

इनफ इज इनफ आन्दोलनले कस्तो सफलता पायो ? यसबाट जुन अपेक्षा थियो पूरा भयो त ?
–आन्दोलन जारी छ । जनचेतनाको हकमा यो अभियानले निकै काम गरेको छ भन्ने लाग्छ । प्रधानमन्त्रीलाई दुई युवा सत्याग्रहीहरुले भेट्न हस्पिटलसम्म ताने । स्वास्थ्य मन्त्रालयले १२ बुँदे ग¥यो । यो पहिलो सफलता नै हो । दुःखको कुरा सरकारले गरेको सम्झौतालाई पालना गराउन पनि आन्दोलन गर्नुपरेको छ । सम्झौता गलत थियो भने हिजो किन गरेको ? सही थियो भने आज किन पालना नगरेको ? यी युवा, हिजो हाम्रा नेताको पछाडि मासुभात र पेट्रोलमा बिकेका कार्यकर्ता होइनन् । यी, अरुलाई उज्यालो छर्न आफूलाई जलाउन सक्ने हाम्रो समाजका विवेकी नागरिक हुन् । आशाका किरण हुन् । उहाँहरुले एउटा स्पष्ट सन्देश दिनुभएको छ । हाम्रो पुस्ता देश हाँक्न सक्षम छ भन्ने । हेर्नुहोस् न, आज संसारको एक नम्बरको अजेन्डा कोभिड–१९ हो । त्यो मुद्दाको महत्व कसले बुझेको रहेछ त ? यी युवाले । तसर्थ, केही उपलब्धि अनि केही आशासँगै आन्दोलन जारी छ ।

राजनीतिकरुपमा सचेत नभएका कलिला युवालाई आन्दोलनमा लगाएर तपाईंहरुले निहित स्वार्थ सिद्ध गर्नुभयो भन्नेहरुलाई के भन्नुहुन्छ ?
–खोइ, सरकारले नागरिकको स्वास्थ्यलाई ध्यान दिन प¥यो । कोरोनाको रोकथाममा सिरियस भन्नुप¥यो भन्दा कसको के स्वार्थ हुनु ? हाम्रो समाज र राजनीति ‘षड्न्त्रको सिद्धान्त’ मा लट्ठिएको छ । जेमा पनि स्वार्थ देख्ने । विदेशीको हात देख्ने । आफ्नो आमाबुवा छोराछोरीको जीवन धरापमा पर्दा पनि गफमै भुलेर आफूलाई नै हानि गरिरहने ?

इनफ इज इनफ आन्दोलनको आयोजना कोरोना महामारीको बीचमा, ठीक भएन कि ?
–महामारीका वेला पनि अभियानको सान्दर्भिकता बारे डा. स्टिभन म्याकडोनाल्डले केही दिनअघि न्युयोर्क टाइम्समा लेखे– प्रदर्शन सामाजिक रोगको उपचार विधि हो । यस्ता अभियानले स्वास्थ्यसेवा, न्यायिक प्रणाली तथा व्यवस्थापनमा रहेका अनियमिततालाई घटाउँछ । हामीले भुल्न नहुने कुरा, आजको दिनमा हाम्रो स्वास्थ्यसँगै समाजको स्वास्थ्य पनि महत्वपूर्ण छ । नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउन ‘इनफ इज इनफ’जस्ता अभियानको ठूलो भूमिका रहने गर्छ । यो अभियानमा युवाहरु सजग देखिएका छन् । सामाजिक दूरी कायम गरेका छन् । स्यानिटाइजरको प्रयोग गरेका छन् । तसर्थ, नागरिकको स्वास्थ्य अनि समाजको स्वास्थ्यका लागि नेतृत्व लिएका छन् । मलाई खुसीचाहिँ के लागेको छ भने, आज देशमा यति धेरै बुद्धिजीवी, विज्ञ, विश्लेषक, प्रोफेसर छन् तर यति महत्वपूर्ण मुद्दाचाहिँ यी २०–२५ वर्षका युवाले उठाउन परिरहेको छ ।

यस आन्दोलनमा अदृश्य शक्तिले लगानी गरेको छ भन्नेलाई के जबाफ दिनुहुन्छ ?
–हाहाहा । अदृश्य शक्तिलाई चाहिँ कसले देखेछ नि फेरि ? आफैमा विश्वास नहुँदा यस्तो प्रश्न गरिन्छ । हामी मुद्दामा बाहेक सबै विषयमा बहस गर्छौं । यो अभियानमा पनि यही दोहोरियो । गुठी आन्दोलन, निर्मला हत्या प्रकरण वा गोविन्द केसीको आन्दोलन, ‘यो कतैबाट परिचालित छ’ भन्दिए पुग्यो । नागरिकमा भ्रम छर्न हाम्रो नेतृत्व खप्पिस छ । आफ्नै छोराछोरी सडकमा ओर्लिँदा पनि परिचालित देख्नु निकै दुःखद छ ।

सरकारी व्यवहार र ठूला दलको दृष्टिकोणलाई कसरी व्याख्या गर्नुहुन्छ ?
–सरकार पूर्णरुपमा असफल भइसक्यो । दुःख यतिमा मात्र सीमित छैन । आज देशमा यति धेरै समस्या हुँदा नेकपा भन्ने पार्टी कहाँ छ, जसलाई नागरिकले सबैभन्दा ठूलो दल बनाएर विश्वास गरे । प्रतिपक्ष दल कहाँ छ ? ऊ त सरकारसँग भागबण्डाको बार्गेनिङ गर्दै छ । यी दलहरुले लोकतन्त्रलाई सिध्याई सके । सरकार, प्रतिपक्ष, न्यायालय, मिडिया, नागरिक समाज सब गुटीयकरणमा फसेका छन् । लोकतन्त्रलाई सिध्याउन उद्दत छन् यी दलहरु । यो अभियानमा पनि प्रधानमन्त्री केपी ओली आएर समर्थन गर्ने, स्वास्थ्य मन्त्रालयले सम्झौता गर्ने तर केही पनि नहुनु भनेको सरकारले मजाक गरिरहेको छ वा सरकार आफैले केही गर्न सक्दैन भन्ने नै हो । एउटा महत्वपूर्ण कुरा भन्दिम– केपी ओलीलाई केपी ओलीले चलाइरहेका छैनन् ।

आन्दोलनकारी त पक्राउ गरिए, अब नयाँ कार्यक्रम के छ ?
–केही दिन अघि हामी सबैले अमेरिकाको एउटा घटना देख्यौं । एउटा प्रहरीले ट्रम्पलाई यदि राम्रो केही बोल्न सक्दैनौ भने मुख बन्द गर भनेर भने । हाम्रा प्रहरी भने माथिको आदेश भन्दै संविधान उल्लंघन गर्न पनि पछि पर्दैनन् । माथिको आदेश दुई प्रकारको हुन्छ एउटा लिगल आदेश, अर्को इल्लेगल आदेश । प्रहरी संगठनले यो छुट्याउन सक्नुपर्छ । नागरिकको हितमा काम गर्न यदि कर्मचारीतन्त्रले नेतृत्व लिने हो भने पनि हाम्रो दलहरु अनि नेताहरु सुध्रिन्थे ।

केही भन्नु छ कि ?
–तपाईं एउटा कुनै दुर्गन्धित घरमा जानुभयो भने जानेबित्तिकै नाक थुन्नुहुन्छ, तर त्यहाँ पहिलेदेखि नै रहेकालाई गनाइरहेको हुँदैन । किनकि त्यहाँ रहेकालाई बानी परिसकेको हुन्छ । त्यस्तै, देशको बेथिति, भ्रष्टाचार, कुशासनले अघिल्लो पुस्तालाई भन्दा युवा पुस्तालाई बढीउद्वेलित बनाउँछ, जसका कारण उसले विद्रोह गर्छ । अहिले युवामा जुन जागरण देखिएको छ, यदि दूरदर्शी नेता हुन्थे भने खुसी हुन्थे । यो जागरुकतालाई सम्बोधन गरेर राष्ट्र निर्माणमा लगाउँथे । यो पीसीआरको मात्र कुरा होइन, यो राज्य, सरकार तथा नेतृत्वप्रतिको युवाको अविश्वास हो । ‘इनफ इज इनफ’ अभियान संकेत मात्र हो । आजको आन्दोलन व्यवस्था परिवर्तनका लागि होइन, अवस्थामा सुधारका निम्ति हो । तर, अवस्था सुधारमा व्यवस्था बाधक बन्छ भने युवाले व्यवस्थै परिवर्तन गर्न पनि पछि पर्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्