पर्वतको जलजलामा पहिरोका कारण ५० घर बिस्थापित


न्युज अफ नेपाल,पर्वत ।

पर्वतको जलजला गाउँपालिकामा पहिरोका कारण ५० भन्दा बढी घर बिस्थापित भएका छन । अबिरल बर्षाका कारण बिभिन्न ठाउँमा पहिरो जाँदा गाउँपालिकाका दुई वटा वडामा मात्रै ५० भन्दा बढी घरपरिवार बिस्थापित भएका हुन । पहिरोका कारण जलजला गाउपालिका–७ धाइरीङको विभिन्न ठाउँमा ३० घरपरिवार र वडा नं २ मा २० भन्दा बढी घरपरिवार बिस्थापित भएका हुन ।

पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि बास छाडेर विस्थापित भएका छन । धाईरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्द बहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताउनुभयो ।

सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाअध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिनुभयो ।मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमल बहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मन बहादुर परियार भिम परियार र राजु परियारको परिवार विस्थापित भएको छ । सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले धाईरिङमा २५ घरपरिवार विस्थापित भएको हुन ।

पहिरोका कारण मिलनचोक नजिकका ५ घर समेत बिस्थापित भएका छन । सडकबाट पहिरो झर्ने जोखिम भएपछि घर छाड्ने अबस्था आएको स्थानियबासी अर्जुन शर्माले बताउनुभयो ।यसैगरीे जलजला गाउपालिका–२को टिमीलाखर्क र गौरटेमा पहिरोका कारण २१ घर जोखिममा परेका छन ।

उच्च जोखिममा रहेका चार वटा घरका मानिस र सामान सुरक्षित ठाउँमा सारिएको छ । गोर्खबहादुर कार्की, रत्नबहादुर कार्की, सुर्य कार्की र कृष्ण कार्कीका परिवारलाई सुरक्षित स्थानमा सारिएको पर्वत बेनी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक भरत गौतमले बताउनुभयो । उहाँका अनुसार टिमीलाखर्क १६ र गौरेटामा ५ घर पहिरोको जोखिममा छन ।