झापामा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ


न्युज अफ नेपाल,भद्रपुर ।

झापामा मास्क नलगाई हिड्नेलाई जरिवाना बापत १ सय रुपैयाँ लिने निर्णय भएको छ । कोभिड १९ को बढ्दो सङ्क्रमण नियन्त्रण गर्न बुधबार सम्पन्न डिसिसी एमसीको बैठकले सङ्क्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्बजनिक स्थलमा रहदा वा हिडडुल गर्दा मास्क नलगाउने ब्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईले जानकारी दिनुभयो ।

बैठकले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सामाजिक दुरि कायम गर्दै अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा प्रहरीले कारबाही शुरु गरेको छ । कोरोना सङ्क्रमण बढेपछि झापामा प्रहरीले ठाउँको ठाउँ कारबाही गर्ने अभियान दुइ दिन यताबाट शुरु गरेको थियो ।

ठाउँ – ठाउँमा प्रहरी खटाएर मास्क नलगाउनेलाई आधा घण्टासम्म सडकमै उभ्याउदै सचेत गराउदै आइरहेको थियो । चन्द्रगढी ट्राफिक प्रहरीका इञ्चार्ज जनक तिम्सिनाले कोरोना सङ्क्रमण समुदायमा फैलने जोखिम बढेका कारण जाँच बढाइएको बताउँनुभयो । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई मास्कको प्रयोग अनिवार्य गराउन निर्देशनात्मक परिपत्र जारी गरेको थियो । परिपत्रमा मास्क प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत् हुन भनिएको थियो ।