स्याङ्जामा कोरोना फैलिएपछि पर्वतका नाकामा पनि कडाई ,मास्क नलगाउनेलाई कारवाही


न्युज अफ नेपाल,पर्वत ।

छिमेकी स्याङ्गजामा कोरोना फैलिएपछि पर्वत प्रबेश गर्ने र बाहिरीने नाकाहरुमा कडाई गर्न थालिएको छ । पर्वतको मध्य र दक्षिणमा स्याङ्गजाबाट भित्रीने नाकामाहरुमा सुरक्षा जाँचमा कडाई गरिएको हो । दक्षिण पर्वतको ब्यापारिक कारोबार र आगमन सबै स्याङ्गजा संग निर्भर छ । दक्षिणमा सबैभन्दा बढी सवारी साधन भित्रने हुवास, कार्किनेटा लगायतका नाकामा बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

इलाका प्रशासन र इलाका प्रहरी कार्यालय हुवासलाई त्यस क्षेत्रमा भित्रने र बाहिरीने सवारी साधनलाई अत्याबश्यक काम र बिरामी बाहेक कसैलाई नछाड्न निर्देशन दिइएको प्रजिअ रेग्मीले बताउनुभयो ।‘संक्रमणको जोखिम बढेपछि नाकामा कडाई गरिएको छ’ प्रजिअ रेग्मीले भन्नुभयो ‘अत्याबश्यक काम बाहेक बाहिर नजान र नआउन सबैलाई सचेत बनाइएको छ ।’

संक्रमण फैलन नदिन पर्वतको सदरमुकाम कुस्माबजारमा मास्क नलगाई हिड्नेलाई फेरी काबार्ही गर्न थालिएको छ भने पर्वतबाट अन्य जिल्लामा जाने सवारी साधनलाई पास अनिवार्य गरिएको छ । झण्डै दुई साता साना सवारी साधनलाई बिना पास पोखरा पठाइएको थियो ।

ठुला बसहरु भने अहिले पनि सञ्चालनमा छैनन । ‘अन्तरजिल्ला पास बिना सवारी साधन चलाउने कुरामा कडाई गरिएको छ ।’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले भन्नुभयो । कुस्माबजारमा मास्क नलगाई हिड्ने र भीडभाड समेत बढेपछि बुधबार दिउँसो देखि प्रहरीले मास्क नलगाउनेलाई काबार्ही गर्न थालेको छ । माइकिङ्ग गर्ने, अनुरोध गर्ने काम मात्रै होइन प्रहरीले बाटोमै समातेर प्रशिक्षण दिन थालेको छ । ‘शुरुमा अनुरोध गर्ने र प्रशिक्षण दिने गरिएको छ ।’ उहाँले भन्नुभयो ‘अटेरी भएमा जरिवाना पनि तिराउँछौ।’

सुरक्षाकर्र्मी सहित समुदायमा कोरोना भाइरसको संक्रमण भेटिएपछि स्याङ्जामा मंगलबार देखि नै १० दिनको लागि सिल गरिएको छ । समाजमा कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक सेवा बाहेक आवतजापतमा पूर्णरुपमा बन्देज गरिएको छ । प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र सम्पर्कमा आएकाले प्रभाबको हिसाबले पुतलीबजार धेरै जोखिम देखिए पनि समुदायमा पूर्णरुपले फैलिन नदिन अन्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।