बालुवाटारभित्रै नेकपाको भाँडभैलो

ओलीले रोके प्रचण्डले चलाए


मधुसूदन रायमाझी, काठमाडौं

एक महिनादेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । मंगलबारका लागि निर्धारित स्थायी समितिको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा स्थायी समिति बैठक सञ्चालन भएपछि विवादले नयाँ मोड लिएको हो ।

स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तर पार्टी अध्यक्ष ओलीले बैठक स्थगित गरेको जानकारी पाएपछि अर्का अध्यक्ष र वरिष्ठ नेता झलनाथ खनाल अध्यक्ष ओलीलाई बैठक स्थगित नगरी सञ्चालन गर्न आग्रह गर्न जानुभएको थियो । तर, ओलीले आफूले गरेको निर्णय फिर्ता नलिने अडान राखेपछि ओलीविना नै प्रचण्डले बैठक सञ्चालन गर्नुभएको थियो ।

बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीका विरुद्ध खेद प्रस्ताव पारित गरेको छ । पार्टीको विधि र पद्धतिअनुसार नचलेर अध्यक्ष ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु आपत्तिजनक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । मंगलबारको बैठकमा स्थायी कुल ४४ सदस्यीय स्थायी समितिमा २९ सदस्य उपस्थित रहेको बताउँदै श्रेष्ठले अध्यक्ष ओलीसँग सहमति गरेर बैठकको मिति तय गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको जानकारी दिनुभयो ।

बैठकमा प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउन पहल गरिरहेको जानकारी गराउँदै पार्टी स्थायी कमिटीको पूर्ण बैठक नभई बहुमत सदस्यको मात्र भएको जानकारी गराउनुभएको थियो । ‘स्थायी कमिटी बैठक एकलौटी रुपमा स्थगित गरेर दुई अध्यक्षको अस्तित्व समाप्त गर्नुका साथै पार्टी प्रणालीमाथि नै धावा बोल्ने काम भएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने– ‘मैले बैठक स्थगित भएपछि पनि प्रधानमन्त्रीलाई भेटेर बैठक सञ्चालन गर्न आग्रह गरेँ, बैठक नरोकौं, भोलि सचिवालय बैठक गरेर फेरि नयाँ ढंगबाट संवाद थालौं भनेँ तर ओली मान्नुभएन ।’ पार्टी गम्भीर मोडमा पुगेको बताउँदै प्रचण्डले अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउन पनि आग्रह गर्नुभएको थियो ।

बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई ओली पक्षका नेताहरुले भने भेलाको संज्ञा दिएका छन् । ओली समूहका एक स्थायी समिति सदस्यले दुवै अध्यक्षको सहमतिमा मात्र बैठक बस्ने विधानमा उल्लेख भए पनि प्रचण्डले विधानविपरीत बैठक नगरी भेला मात्र गरेको बताए ।

पार्टी प्रवक्ता श्रेष्ठले पार्टीमा बहुमत र अल्मतको आधारमा भन्दा पनि अध्यक्ष ओलीसहितको सहमतिको आधारमा जारी विवाद समाधान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हतारमा कुनै निर्णय गर्न चाहँदैनौ, धैर्यपूर्वक निर्णय लिन्छौं, बहुमत र अल्पमतमा निर्णय गर्नुभन्दा छलफलमा आएका विचारको सम्बोधन गर्ने गरी अगाडि बढ्छौं ।’

मंगलबार ओलीइतरका नेताहरुको सहभागितामा नेकपाको स्थायी समिति बैठकमा पनि प्रचण्ड निकट मानिने केही नेताहरु भने सहभागी भएनन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी भएनन् । ओली समूहले बैठकलाई प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल गुटको भेला भने पनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताउनुभयो ।

मंगलवारको बैठकको पहिलो लहरमा प्रचण्ड, खनाल, नेपाल र वामदेव गौतम बस्नुभएको थियो । प्रचण्ड र खनालको कुर्सीको बीचमा रहेको अध्यक्ष ओलीको कुर्सी खाली थियो । त्यसै गरी पार्टीका महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापाको कुर्सी पनि खाली थियो ।

पार्टीभित्र एक महिनादेखि जारी आन्तरिक विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको बुँदा अगाडि सार्नुभएको छ । उहाँले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक भएको वार्ता सफल हुन नसकेपछि सहमतिका लागि ६ बुँदे सहमतिको खाका अगाडि सार्नुभएको हो । गौतमको प्रस्तावसँगै नेकपाभित्र सत्ता समीकरण फेरि फेरबदल भएको छ ।

यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समयमा प्रधानमन्त्री ओलीतिर लाग्नुभएको छ । यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड–नेपाल पक्षका ४ र ओली पक्षमा ५ नेता भएका छन् । सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत देखिएको छ ।

गौतमले पार्टी नेताहरुसामु ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधिभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सार्नुभएको छ । प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ ।