परेवाभीरमा बाटो बनाउन जनप्रतिनिधि प्रतिवद्ध


न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालसमक्ष दर्जनौंपटक लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि उपेक्षामा परेको बिकट राक्सिराङ–५ स्थित परेवाभीर सडक निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडा तहसम्मका जनप्रतिनिधि एक भएका छन् ।

संघीय सांसद् विरोध खतिवडाको संयोजनमा बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद्हरु, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिसहित बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

हाल मनहरीबाट परेवाभीर हुँदै राक्सिराङतर्फबाट मलेखु जोड्ने र कैलाशतर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवाभीर खण्ड निर्माणको बिकल्प नरहेकोमा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद् खतिवडा, संविधानसभा सदस्य राजाराम स्यांतान, बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, मनहरी गाउँपालिका–८ अध्यक्ष दिलबहादुर स्यांतान, राक्सिराङ गाउँपालिका–४ अध्यक्ष सञ्जय कोइरालासहित सरोकारवालाको सहमति बनेको हो ।

छलफलमा मुख्यमन्त्री पौडेलले भनेजस्तो पेरवाभीर खण्डमा सडक निर्माणको कुनै बिकल्प नरहेको निष्कर्ष निकालिएको हो । छलफलमा राक्सिराङ गाउँपालिकाले गरेको डीपीआरबारे प्राविधिक छलफल भएको थियो । छलफलमा ठूला रड र कंक्रिट पर्खाल निर्माण गरी ४ मिटर बलियो बाटो निर्माण गर्न सकिने प्राविधिक अध्ययन प्रतिवेदनबारे राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

उक्त खण्डमा ४ करोड लागतमा नदीकिनारबाट उकास गरी सडक बनाउन प्राविधिकहरु तयार रहेको जानकारी अध्यक्ष मल्लले दिएपछि संघीय सांसद् खतिवडाले कहींकतैबाट जोहो गरेर भए पनि बाटो निर्माण कार्य थाल्न मल्ललाई सुझाव दिनुभयो ।

‘अहिले जति बजेट छ, कार्यान्वयन गर्नू,’ सांसद् खतिवडाले भन्नुभयो–बाँकी बजेटका लागि संघीय सरकारमा म पहल गर्नेछु मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रीलाई सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद्हरुले पहल निरन्तर गरिरहनुहोला ।

मुख्यमन्त्रीको बोलीबाट जनता निराश भएको भन्दै संघीय सांसद् खतिवडासहित सबै जनप्रतिनिधिले अमुक व्यक्तिले मुख्यमन्त्रीलाई परेवाभीरबारे गलत रिपोर्टिङ गरेकोले यस्तो समस्या आएको बताएका थिए ।

सांसद् खतिवडाले राक्सिराङ र कैलाशको मात्रै समस्या नभएर मनहरी गाउँपालिकाको आर्थिक विकास, बजारको समुन्नतिका लागि पनि परेवाभीरको सामरिक महत्व भएकोले मनहरी गाउँपालिकाले समेत परेवाभीर खण्डमा लागत सहभागिता जनाउनुपर्ने बताउनुभयो ।
छलफलमा कैलाश गाउँपालिकाको कालिकाटार हुँदै भार्ता, रतुवा र परेवाभीर हुँदै चैनपुर र चैनपुर हुँदै मनहरीसम्म आउने सडक बिस्तार गर्नसके दुवै गाउँपालिका केन्द्रलाई छुने सडक निर्माण हुने भएकोले पहलकदमी लिइदिन सांसद् खतिवडालाई जनप्रतिनिधिले आग्रह गर्नुभएको थियो ।

सांसद् ग्लानले कोही कसैप्रति टिप्पणी गरिरहनुभन्दा पनि परेवाभीर सडक निर्माणमै केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो । ‘एकपटक होइन, धेरै पटक हामीले पहल ग¥यौं । तर, मुख्यमन्त्रीले मान्नु भएन,’ सांसद् ग्लानले भन्नुभयो–उहाँसँग फेरि पनि यस विषयमा समय निकालेर छलफल गर्नुपर्नेछ ।