वन क्षेत्रमा मापदण्ड पूरा गर्न स्थानीय निकायको ध्यानाकर्षण


न्युज अफ नेपाल , हेटौंडा ।

केही महिनाअघि हेटौंडा उपमहानगरपालिकाको ट्रिपरलाई ‘कारबाही’ गर्ने साहस गरेको डिभिजन बन कार्यालय हेटौंडाले विकास निर्माणका कुनै काम गर्दा निश्चित मापदण्ड पूरा गरेरमात्र गर्न स्थानीय निकायको ध्यानाकर्षण गराएको छ ।

मापदण्ड पूरा गरेर विकासका योजना सञ्चालन गर्न आग्रहसहित मकवानपुरका ५ स्थानीय तहलाई अनुरोधसहित पत्राचार गरिएको हो । बन कार्यालयले हेटौंडा उपमहानगरपालिका, बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी गाउँपालिकालाई यस्तो पत्र पठाएको छ ।

प्रदेशका कुनै पनि विकास निर्माण गर्न निश्चित दायरा तोकिएको हुने हँुदा कार्यालयबाट सञ्चालन हुने सडक, सिचाईं कुलो, खानेपानी, भवनलगायत पूर्वाधार विकास निर्माण वा स्तरोन्नतिका योजना सञ्चालन गर्न त्यस्ता योजना सञ्चालनपूर्व वातावरण संरक्षण नियमावली, २०७७ तथा बागमती प्रदेश वातावरण संरक्षण ऐन, २०७७ अनुसार योजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट अनिवार्यरुपमा स्वीकृत गराउनुपर्ने जानकारी दिइएको डिभिजन बन कार्यालयका सहायक बन अधिकृत अच्युतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

त्यहाँबाट सञ्चालन हुने योजनाले राष्ट्रिय बनक्षेत्र प्रयोग गर्ने भए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण मापदण्ड, २०७५ बमोजिम राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गराएर नेपाल सरकारको मापदण्डबाट स्वीकृत राष्ट्रिय प्राथमिकताप्राप्त योजनाका लागि राष्ट्रिय बनक्षेत्र प्रयोग गर्ने सम्बन्धि मापदण्डसहित कार्यविधि, २०७६ को प्रक्रिया पूरा गर्न अनिवार्य व्यबस्था रहेको उहाँले जानकारी दिनुभयो ।

‘तसर्थ कार्यालयबाट राष्ट्रिय बनक्षेत्र, सामुदायिक बन, धार्मिक बन, कबुलियती बन, साझेदारी बन, बन संरक्षण क्षेत्र, सरकारद्वारा व्यबस्थित बनमा योजना सञ्चालनपूर्व ऐन, नियम र कार्यविधि पूर्णरुपमा पालना गर्न आग्रह गरिएको छ,’ उहाँले भन्नुभयो ।

प्रदेशका कुनै विकास निर्माण गर्न निश्चित दायरा तोकिएको हुँदा वातावरणीय मूल्यांकन गर्नुपर्ने र स्थानीय तहले योजना छनौट गर्ने क्रममा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । योजना छनौट गरिएपछि वातावरणीय मापदण्ड पूरा नगरी कार्यान्वयनतिर लाग्ने हुँदा बेलैमा पत्र पठाइएको उहाँले बताउनुभयो ।

बनक्षेत्रमा विकास निर्माणका काम गर्दा वा गर्नुअगाडि वातावरणीय ऐननियम पूरा गरी सम्बन्धित निकायबाट अनिवार्य स्वीकृत गराएरमात्र काम गर्नुपर्ने व्यबस्था छ । बन कार्यालयले साउनमै विकास योजना बनाउनुपूर्व पत्र पठाएको उहाँले जानकारी दिए । ‘बन कार्यालयले पूर्वाधार विकाससँगका कार्यालयलाई पत्र पठाएको हो,’ उहाँले भन्नुभयो ।

मकवानपुरमा ढुंगा, गिट्टी र बालुवा अबैध उत्खनन् तथा ओसारपसार कार्य नियन्त्रण गरी प्राकृतिक स्रोतसाधनको संरक्षण र त्यसको उचित प्रयोग गर्न डिभिजन बन कार्यालय हेटौंडाले आफ्नो कार्यक्षेत्र र अधिकारलाई उचित प्रयोग र निगरानी गर्दा बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाको ट्रिपरसमेत नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।

बाटो निर्माण गर्ने भन्दै हेटौंडा–१८ नम्बर वडा भोर्ले मा अवैधरुपमा खहरे उत्खनन् गरिरहेको अबस्थामा डिभिजन बन कार्यालयको टोलीले ट्रिपरसहित उत्खनन् कार्यमा प्रयोग रहेको जेसीबी नियन्त्रणमा लिएको थियो ।

वडा कार्यालयले स्थानीय विकासका नाममा चुरे संरक्षण क्षेत्रको सिमानाभित्र आईईई नभएको स्थानमा मनलाग्दी उत्खनन् गरी प्राकृतिक स्रोतसाधनको चरम दुरुपयोग गरिरहेको स्थानीयको गुनासोपश्चात् उत्खनन् गरिरहेको अबस्थामा हेटौंडा उपमहानगरपालिकाको प्रदेश ३–०३–००१ ग ००१२ नम्बरको ट्रिपर र ना. १ ग ८४ नम्बर जेसीबी नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।

उक्त कार्य नगर्न र नगराउन पटकपटक जानकारी गराउँदासमेत अटेर गरी उत्खनन् कार्य नरोकिएका कारण नियन्त्रणमा लिनुपरेको डिभिजन प्रमुख इमनाथ पौडेलले बताउनुभयो ।

 हेटौंडा उपमहानगरपालिकाले आफंै नगर क्षेत्रको ढुंगा, गिट्टी र बालुवाको बोलपत्र आह्वान गरी ठेकेदार कम्पनीलाई दिने गर्दछ र नियमसंगत नरहे कारबाही गर्नसक्दछ । तर, स्थानीय सरकार आफैं आईईई नगरेको स्थानमा अवैध उत्खनन् गरी प्राकृतिक स्रोतसाधनको चरम दोहन गरी नागरिकलाई स्थानीय सरकारको रवैया देखाउन लागिपरेको आरोप छ ।