पोषणको पुरस्कार कुपोषितलाई


दयाराम पण्डित, बाजुरा ।

बाजुराका पत्रकारले पोषण क्षेत्रबाट पाएको पुरस्कारले कुपोषितलाई सहयोग गरेका छन् । पत्रकार प्रकाश सिंहले जुन क्षेत्रबाट पुरस्कृत भए त्यसै क्षेत्रमा सहयोग गरेका हुन् ।

छोरा पाउने आसमा १३ सन्तान जन्माएकी बूढीनन्दा नगरपालिका–१ की पूर्वा दमाईको ६ सन्तान जन्मँदैमा बिते । १३आंै सन्तानका रूपमा जन्माएकी छोरो पनि कुपोषणको शिकार भएपछि उपचारका लागि जिल्ला अस्पताल लैजाने खर्च समेत नभएकी पूर्वालाई पत्रकार सिंहले २७ हजार रुपियाँ बराबरको सहयोग गरेपछि हाल उनको छोराको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

जगन्नाथ गाउँपालिका–५ की पुतली रावलले बच्चा पाएको चार घण्टा नबित्दै देह त्याग गरिन् । उनको नवशिशु सहितचार नाबालक छोराछोरीका लागि पत्रकार सिंहले शिशुका लागि एक महिनासम्म दूध र अन्य तीन बालबालिकाका लागि लुगा कपडा र खाद्यान्न सहयोग गरे ।

त्यस्तै स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी वसन्ती लुवारको उपचार अभावका कारण मृत्यु भयो । उनका नाबालक दुई कुपोषित बालबालिकालाई सिंहले सहयोग गरे । वसन्ती र पुतलीका बालबालिकालाई सिंहकै पहलमा उद्धार गरी अहिले एसओएस बालग्रामको संरक्षणमा रहेका छन् ।

पोषणको क्षेत्रमा समाचार लेखेकै कारण नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्षसमेत रहेका पत्रकार सिंहलाई गतवर्ष नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पुरस्कार पाएकै बेला सिंहले अलपत्र परेका, कुपोषित तथा उपचार नपाएका बालबालिकालाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो । पुरस्कारबापत सिंहले ५ सय अमेरिकी डलर प्राप्त गर्नुभएको थियो ।