त्रिविमा तालाबन्दी, मूकदर्शक पदाधिकारी

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

एक सातादेखि आफ्नो कार्यकक्ष बन्द हुँदासम्म मूकदर्शक बनेका त्रिविका तीन पदाधिकारीले तालाबन्दी खोल्न सकेका छैनन् ।

जेष्ठता वरिष्ठता, प्राज्ञिक र विश्वसनीयताको आधारमा पदाधिकारी, डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने माग गर्दै प्रजातन्त्रबादी प्राध्यापक संघले साउन ५ गतेदेखि तीन पदाधिकारी र सेवा आयोगको मूल गेटमा अनिश्चित्कालीन तालाबन्दी गरेका थिए ।

संघको तालाबन्दी सँगै नेविसंघ, तीन पदाधिकारी र लोकतन्त्रवादी प्राध्यापक संघले समेत त्रिवि पदाधिकारी र सेवा आयोगको कार्यालयमा तालबन्दी गरेका छन् । यो सँगै दुई प्राध्यापकले संगठनले पदाधिकारीको कार्यकक्षमा दुईवटा तालाबन्दी गरेका छन् ।

नेविसंघले आइतबार शिक्षा र मानविकी संकाय डीनको कार्यालयमा समेत तालान्दी गरेको थियो । त्रिवि कार्यकारीले शुक्रबार मानविकी, शिक्षा र व्यवस्थापन संकायका डीन नियुक्ति गरेको थियो ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले वार्ता गर्ने विषयमा चासो नदेखाउँदा समस्या जटिल बन्दै गएको छ । एक उच्च अधिकारीका अनुसार उपकुलपति प्राडा बास्कोटाले जहिले पनि एकदुई दिन हेरौं भन्दै पन्छिने गरेका कारण ताला खुल्ने विषय अनिश्चित भएको छ । बास्कोटालाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्ति गर्नुभएको थियो ।

उपकुलपति बास्कोटाले रजिस्ट्रारमा नेकपाकै प्राडा पेशल दाहाल र शिक्षाध्यक्षमा प्राडा शिवलाल भुसाललाई नियुक्ति गर्नुभएको थियो । त्यसपछि संघले जेष्ठता, वरिष्ठता र प्राज्ञिक व्यक्तिलाई पदाधिकारी नियुक्ति माग गरेर पटकपटक ज्ञापनपत्र र मागपत्र बुझाएका थिए ।

त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियमावली २०५० को आचरणसम्बन्धी नियमविरुद्ध तालाबन्दी गरेका छन् । आचरणसम्बन्धी परिच्छेदमा आफ्ना कर्मचारीले तालाबन्दी, हड्ताललगायतका आचरण गर्न नपाइने उल्लेख छ । तर संघले आचरणविपरीत तालाबन्दी गर्दा त्रिविले कारबाही गर्र्ने हैसियत देखाउन सकेको छैन ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले तालाबन्दी खोल्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमै समस्या समाधान हुने दाबी गर्नुभयो । प्रहरीको पोस्ट नै खडा भएर सुरक्षा दिएको त्रिवि मुख्यालयको ताला खोल्ने विषयमा पदाधिकारीले चासो नदेखाउँदा समस्या बढेको छ ।

अघिल्लो कार्यकालका पदाधिकारीले विभिन्न संघसंगठनले ताला लगाएलगत्तै ताला खोलेका थिए । अघिल्लो कार्यकालका पदाधिकारीले तालाबन्दी हुनासाथ प्रहरीको सहयोगमा तत्काल खोल्ने गरेका थिए नि भन्ने प्रश्नमा रजिस्ट्रार दाहालको भनाइ थियो– ‘हामी केही दिन हेर्दै छौं, त्यसपछि निर्णय गरांैला ।’

तत्कालीन उपकुलपति प्राडा हीराबहादुर महर्जन कार्यकालको त्रिवि कार्यकारी परिषद् बैठकले त्रिवि कर्मचारी संघ, त्रिवि प्राध्यापक संघ र स्ववियुबाहेक अन्य कुनै पनि संघ र संगठनले ताला लगाए तत्काल खुलाउने निर्णय भएको थियो । पूर्वउपकुलपति प्राडा महर्जनले जसले पायो त्यसले ताला लगाउँदा समस्या बढेर जाने बताउँदै तत्काल खोल्न सुझाव दिनुभएको थियो ।

सरकार आफ्नै, सबै पदाधिकारी एउटै पार्टीको हुँदासम्म उपकुलपतिले चासो नदेखाउनु लज्जास्पद विषय भएको अन्य कर्मचारीको भनाइ छ । पूर्वउपकुलपति प्राडा महर्जन कार्यकालका रजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलले उपकुलपति प्राडा महर्जनको कार्यकालमा कार्यकारी परिषद्को बैठकले तीन संगठनबाहेक अन्यले तालाबन्दी गरे तत्काल खोल्ने निर्णय गरेको बताउनुभयो ।

संगठन संरचना हेर्न अधिकार भएको रजिस्ट्रार कार्यालयले सुरक्षा निकायको सहयोगमा तालाबन्दी खोल्न सक्नेछ । तर अहिलेको रजिस्ट्रार कार्यालयले ताला खोल्ने आँट गर्न सकेको छैन । पूर्वरजिस्ट्रार प्राडा पौडेलले एक सातादेखि तालाबन्दी हुँदासमेत खोल्ने सुरसार नगर्नु पदाधिकारीको कमजोेरी भएको आरोप लगाउनुभयो ।

प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक जगत् तिमल्सिनाले पटकपटक ज्ञापनपत्र दिँदा, भीसी समक्ष भेट गरी मागपत्र पेस गर्दा पनि सुनुवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले भागवण्डा गर्नुपर्छ भनेर तालाबन्दी गरेका होइनौं, जेष्ठता, वरिष्ठता, प्राज्ञिक र विश्वसनीयताको आधारमा पदाधिकारी, डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखको नियुक्ति हुनुपर्ने माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका हांै ।’

‘भागवण्डाको राजनीति गर्ने भए तीन पदाधिकारी नियुक्ति हुनेबित्तिकै तालाबन्दी गर्ने थियौं, अहिले त मागको विषयमा उपकुलपतिले चासो नदेखाएर मनपरी रुपमा आफ्नै पार्टी निकटलाई नियुक्ति गर्न थालेपछि बाध्य भएर तालाबन्दी गरेका हौं’ –उहाँको भनाइ थियो ।

संघले वैशाख २८, जेठ १३ र २५, असार ४ र २९ गते गरी पटकपटक ज्ञापनपत्र र मागपत्र बुझाउँदा समेत नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रेको जनाएको छ ।

संघले आफ्नो ३३ बँुदे माग पूरा नभएसम्मा तालाबन्दी खुला नगर्ने अडान राखेको छ । नेविसंघ र लोकतन्त्रवादी प्राध्यापक संघले त्रिविका पदाधिकारीले मनोमानी गरेपछि तालाबन्दी गरेको जनाएको छ ।
एसईईको नतिजा एक साताभित्रै, रुजु गर्ने काम अन्तिम चरणमा
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यो वर्षको एसईईको परीक्षाफल एक साताभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले सबै जिल्लाको प्राप्ताङ्क आइपुगेका कारण एक साताभित्र परीक्षाफल प्रकाशित गरिसक्ने जानकारी दिनुभयो ।

उहाँले शिक्षा विकास समन्वय इकाइले पठाएको अंक रुजु गर्ने काम भइरहेको र रुजुलगत्तै नम्बर इन्ट्री गरी एक साताभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताउनुभयो ।

पनिकामा सोमबारसम्म बारा, पर्सा, रौतहट र तनहुँ ४ जिल्लाको प्राप्ताङ्क आएसँगै सबै जिल्लाको विद्यार्थीको विवरण आएको हो । पनिकाले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेकोमा बाढी, पहिरोको कारण करिब ३० जिल्लाको प्राप्ताङ्क ढिलो आएको थियो ।

सबै जिल्लाका प्राप्ताङ्क आएपछि पनिकालाई एक साताभित्र परीक्षाफल प्रकाशित गर्ने आशा पलाएको हो । नियन्त्रक खकुरेलले अबको एक साताभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जानकारी दिनुभयो । पनिकाले २३ समूहको सहयोगमा रुजु गर्ने काम शुरु गरेको छ ।

कोभिड–१९ को कारण २०७६ सालको एसईई परीक्षा विद्यालयबाटै लिने निर्णय भएपछि पनिकालाई उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेवारी कम भएको छ । विद्यालयले इकाइमा नम्बर पठाउने र इकाइले प्रमाणित गरी पनिकामा नम्बर पठाउने व्यवस्था छ । पनिकाले अंकलाई अक्षराङ्क प्रणालीमा परिवर्तन गरी ग्रेडको आधारमा परीक्षाफल प्रकाशित गर्नेछ ।