कालापानी, लिपुलेक र लिम्पियाधुरा प्रवेशमा नेपालीलाई रोक लगाउन भारतद्वारा पत्राचार

0
Shares

न्युज अफ नेपाल, दार्चुला ।

भारतले अतिक्रमण गरेको नेपाली भुमी गुन्जि, कुटी, नाबी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पत्र पठाएको छ । नेपाली गुट/समुहहरु लुकीछिपी भारतिय भुमी गुन्जी, कालापानी र लिम्पियाधुरा लगायतका क्षेत्रमा आइरहेको भन्दै प्रवेशमा रोक लगाउन उपजिल्लाधिकारी धारचुलाले असार ३० गते ७३७ नम्बरको पत्र संख्यामा जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ ।

पत्रमा भारतिय भुमी गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपाली गुट/समुह अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आइरहेको विषेश सुचना प्राप्त हुन आएको तथा उक्त गतिविधिले मिडियाहरुको ध्यानाकर्षण भई दुवै देशको प्रशासनलाई विवादमा ल्याएर समस्या सिर्जना गर्न खोजिएको भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन धारचुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले हस्ताक्षर गरेर पत्र पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले ब्याँस गाउँपालिकाको छाङ्गरु र तिंकरमा बसोबास गर्दै आइरहेका सौका समुदायका मानिसहरु संग भारतले कालापानी लिपुलेक लगायतका क्षेत्र जान नदिएको बारे प्रतिक्रिया लिदा उक्त क्षेत्रहरुमा जान रोक नलगाएको उहाले बताउनुभयो ।

यस किसिमका गतिविधि भारतबाट भए तत्काल खबर गर्न पत्र मार्फत नेपाली प्रशासनलाई आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार नेपाली पक्षबाट सिमा क्षेत्रमा कुनै पनि गुट÷समुह गएका छैनन् । यता दार्चुलाका स्थानियले भारतले अतिक्रमण गरेका नेपाली भुमी कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित नाबी, गुन्जी र कुटी लगायतका क्षेत्र नेपालको भएको तथा निर्वाद रुपमा आवत जावत गर्न पाउनु पर्ने धारणा राखेका छन् ।