संक्रमित बढेपछि वीरगन्जको कोरोना अस्पताल भरिभराउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्जस्थित कोभिड अस्पताल संक्रमित बिरामीले भरिएको छ।

साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामी बाहेक अरुलाई राख्ने ठाउँ नभएको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन्। अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन। अस्पतालमा शैया नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानी सहित राखिएको डा. निरज सिंहले जानकारी दिनुभयो ।

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । थपिने संक्रमितलाई राख्न तत्काल कहाँ राख्ने भन्नेमै चिन्ता बढेको उहाँको तर्क छ । कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि । अब सामान्य अवस्थाका संक्रमित भन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

चार महिना अघिदेखि नै पर्सामा कोरोना संक्रमित भेटिइन थालेका थिए। तर, महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो। स्वाब कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि पर्साको वीरगन्जमा स्वाब संकलन व्यापक बनाइएको छ। माइस्थान, श्रीपुर, रेल्वे मा.वि. र विर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको हो पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार आइतबार एकैदिन झण्डै ८०० जनाको स्वाब संकलन गर्ने लक्ष्य राखिएको थियो। संकलित स्वाब जम्मा हुने क्रममा नै रहेकोले एकिन भइनसकेको उनले बताए। हताहती बढ्दै पर्सामा यात्रा विवरण (ट्राभल हिस्ट्री) नै नभएका स्थानीयहरू पनि संक्रमित हुन थालेका छन्। संक्रमितहरूमा लक्षण नै देखिन थालेको छ।

जिल्लामा हालसम्म कोरोना संक्रमित सात जनाले ज्यान गुमाइसकेका छन्। गम्भीर बिरामी थपिने र संक्रमितको धमाधम ज्यान गइरहँदा पनि तीन तहका सरकारबीच उचित समन्वय भएको छैन। जिल्लास्थित सुरक्षा समितिका अधिकारीहरूले नै पर्सामा अब यो महामारी कसरी नियन्त्रण गर्ने भन्नेमा आफूहरू नै अन्योलमा रहेको बताउन थालेका छन्। तीन तहका सरकार र मातहत रहेका संयन्त्रबीच समन्वय हुन नसक्नु सबैभन्दा जटिल समस्या भएको जिल्लास्थित अधिकारीहरूले बताएका छन्।