लाखे नाँच बन्द गर्न प्रशासनको निर्देशन


नेपाल समाचारपत्र, पर्वत

कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम, जात्रा, पर्व रोकिएका बेला कुस्माबजारमा लाखेनाच प्रदर्शन गरिएको भन्दै त्यसमाथि जिल्ला प्रशासनले रोक लगाएको छ ।

नेवा साँस्कृतिक समूह कुस्माले हरेक वर्ष जस्तै यस वर्ष पनि नागपञ्चमीका दिनदेखि बजारमा लाखेनाच प्रदर्शन गरेका थिए । कुस्माको बड्गाउँबाट शुरू भई बजार परिक्रमा गरेको नाच हेर्न ठूलो संख्यामा स्थानीयबासी र बालबालिका सहभागी भएपछि स्थानीय प्रशासनले प्रदर्शन गर्न रोक लगाएको हो ।

लाखे नाचेको हेर्न कुस्माबजारका चोक–चोकमा ठूलो संख्यामा मानिस जम्मा भएका थिए । विगतका वर्षमा जस्तै बालबालिका र अन्य समुदायको समेत सहभागिता भएपछि लाखेनाच प्रदर्शनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

नेवाः साँस्कृतिक समूहका सल्लाहकार विष्णु नेवारले स्थानीय प्रशासनलाई जानकारी दिएरै जात्रा देखाइएकोे बताउनुभयो । भीड बढेका कारण आइतबारदेखि शुरू गरेर सोही ठाउँमा अन्त्य गरिने बताउनुभयो । ‘एकोहोरो मेट्नका लागि शुरू गरेकै ठाउँमा सक्छौं, भीड हुँदैन ।’ –उहाँले भन्नुभयो ।

भूतेऔंसी (कुशेऔंसी) को दिनबाट जात्रा प्रारम्भ भई कृष्ण जन्माष्टमीमा समापन हुने गरी हरेक र्ष जात्रा निकाल्ने परम्परा रहेको नेवा सांस्कृतिक समूहका अध्यक्ष शिव श्रेष्ठले बताउनुभयो ।