‘आमा’ को श्रद्धाञ्जलीमा ओली पक्ष ‘बाइपास’

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

पाटीभित्र केन्द्रमा देखिएको गुटबन्दीको प्रत्यक्ष प्रभाव नेकपा मकवानपुरमा पनि परेको देखिएको छ । ‘पार्टीकी आमा’ को शनिबार हेटौंडा–१७, राजदेवीमा आयोजित श्रद्धाञ्जलीसभामा यस्तै दृष्य देखिएको हो । नेकपा मकवानपुरकी ‘आमा’, नेपालका कम्युनिष्टकी सेल्टरदाताका रुपमा देशमै चर्चित नेकपा मकवानपुरकी ज्येष्ठ कम्युनिष्ट सदस्य बालकुमारी थापाको १३ औं दिनको पुण्यतिथिमा माधब नेपाल र प्रचण्ड खेमाले ओली टिमलाई ‘बाइपास’ गर्दै कार्यक्रम गरेको दाबी गरिएको हो ।

ओली पक्षका एक जिल्ला नेताअनुसार श्रद्धाञ्जलीसभाका प्रमुख अतिथिका रुपमा एक दिनअघिसम्म पोलिटब्युरो सदस्य/प्रदेशका पार्टी सहइञ्चार्ज काशीनाथ अधिकारी रहने भए पनि पछि मुकुन्द न्यौपानेलाई प्रमुख अतिथिका रुपमा ल्याइएको आरोप छ ।

अतिथि आसन ग्रहणसमेतमा गुटबन्दी देखिएको थियो । केन्द्रीय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई अर्का केन्द्रीय सदस्य विरोध खतिवडापछि आसनग्रहण गराइएको थियो । तर, ओली पक्षधर मानिने नेतालाई मन्तव्यसमेत राख्न दिइएन । प्रमुख अतिथि न्यौपानेपछि काशीनाथ अधिकारीको बोल्ने पालो भए पनि उनको नाम कार्यक्रम सञ्चालक तत्कालीन नेकपा माओबादीका जिल्ला अध्यक्ष (हाल नेकपा मकवानपुर सचिव) प्रेमबहादुर पुलामीले काटेको आरोप छ । मकवानपुरको नेकपामा गुटबन्दीको स्वरुप भन्दै सामाजिक सञ्जाल तातेको छ ।

मकवानपुरका संविधानसभा सदस्यसमेत रहनुभएका संविधानसभा सदस्य मञ्च अध्यक्ष अनन्त पौडेलले कार्यक्रमको व्यबस्थापन फितलो रहेको भन्दै सहइञ्चार्ज र मुख्यमन्त्रीसमेतलाई एक शव्द बोल्न नदिनु शोभनीय नभएको टिप्पणी गर्नुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनकी ‘आमा’ का रुपमा परिचित थापाको ७६ वर्ष उमेरमा हेटौंडा अस्पतालमा निधन भएको थियो । १५ वर्षदेखि मुटुरोगबाट ग्रसित थापा केही महिनादेखि थला पर्नुभएको थियो ।

थापाले तत्कालीन नेकपा मालेका नेता भूमिगत हुँदा घरमा सेल्टर दिनुभएको थियो । मकवानपुरकै पहिलो सेल्टर घरलाई उहाँले २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालयजस्तै बनाउनुभएको थियो । नेकपा माले स्थापनाअघि अखिल नेपाल कोअर्डिनेसन केन्द्रमा रहनुभएकी उहाँकै घरमा तत्कालीन नेकपा मालेको महिला संगठन अनेम संघको राष्ट्रिय तयारी भेला भएको थियो ।

पार्टीका हरेक भेला हुँदा उहाँकै घरमा हुने गरेको नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलले बताउनुभयो । सिग्देल भन्नुहुन्छ–घरपरिवार र छोराछोरीभन्दा बढी उहाँका लागि पार्टी र दस्तावेज ठूलो हुन्थ्यो । थापाले नेताहरु कति जना आउँछन् थाहा नभएपछि कहिले त घरमा खानेकुरै नहुँदा छरछिमेकबाट चामल, पीठोलगायत खानेकुरा पैंचो ल्याएर पनि काम चलाउनुहुन्थ्यो ।