सिंगापुरका पुरुषद्वारा चीनका लागि जासुसी गरेको ठहर


वासिंगटन,(एजेन्सी)
अमेरिकामा चीनका लागि जासुसी गरिएको अभियोगमा एकजना सिंगापुरका पुरुषलाई दोषि ठहर्याइएको छ । वासिंगटन र बेइजिंगबिच तनाव चलिरहेको वर्तमान समयमा यो घटना सार्वजनिक भएको हो । अमेरिकी सरकारी अधिकारीहरुका अनुसार जुन वेइ यियोले अमेरिका स्थित आफ्नो राजनीतिक परामर्श कार्यालयलाई चिनिया गुप्तचर निकायका लागि सुचना संकलन गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका हुन् ।

यसैबिच अमेरिकाले यसअघि ३७ वर्षिया जुआँग ताँग नामक एकजना चिनिया महिला अनुसन्धानकर्ताले आफ्नो सम्बन्ध चिनिया सेनासंग रहेको वास्तविकता लुकाएको आरोप लगाएको थियो ।

चीनले पनि यसअघि नै चेंग्दु स्थित अमेरिकी कुटनीतिक नियोग बन्द गर्ने आदेश दिएको थियो । अमेरिकाले टेक्सासको हयुस्टन स्थित चिनिया कुटनीतिक नियोग बन्द गरेको कारण बदलामा चीनको दक्षिण पश्चिमी शहरको सो अमेरिकी नियोग बन्द गरिएको हो । अमेरिकी विदेश मनत्री माइक पोम्पियोले चीनले बौद्धिक सम्पत्तिको चोरी गरिरहेको बताउँदै उक्त कदम चालेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेन्विनले अमेरिकाको या कदम चीन विरुद्ध झुठा अभिायन फैलाउने अभियानको एक अंश भएको प्रतिक्रिया दिएका छन् । चनिया कुटनीतिज्ञहरुलाई ह्युस्टन नियोग छाड्न बहत्तर घन्टे म्याद दिइएको थियो ।

शुक्रवार सो समयसिमा नाघेपछि अमेरिकी सुरक्षा अधिकारीहरु सो नियोगको परिसर भित्र छिरेका थिए । आणविक शक्ति सम्पन्न चीन र अमेरिकाबिच अन्य थुप्रै विषयमा पनि असहमित चुलिएको छ ।

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले व्यापार र कोरोना भाइरस महामारीलाइ लिएर पटक-पटक विवाद गरिसकेको छ । साथै ट्रम्प सरकारले हंगकंगमा चीनले केहि समय अघि लगाएको विवादास्पद नयाँ सुरक्षा कानुनको पनि विरोध गरेको थियो ।

जुन वेइ यियो उर्फ डिक्सन यियोलाई सन् २०१५ देखि २०१९ सम्म चीन सरकारका लागि जासुसी गरेको अभियोगमा एउटा संघिय अदालतले दोषि करार गरेको अमेरिकी न्याय विभागले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।