रथयात्रा सम्पन्न, रथारोहण अनिश्चित


सुनील महर्जन, ललितपुर

पटक–पटकको स्थगनपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार भएको छ । रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा लिइन्छ । १६ सय वर्ष पुरानो यस परम्परा यसअघिका विभिन्न महामारीमा रोकिएको इतिहास नभएको उल्लेख गर्दै रथारोहण गरिएको हो ।

दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभसाइतमा धार्मिक विधि–विधान पूरा गरी करिब १ बजे आसपासमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । यसअघि तबहालमाको एउटा पाटीमा राखिएकोमा रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ३२ फिट उचाइ रहेको रथमा राखिएको हो । यसपटक कोरोनाका कारण परम्परागत बाजागाजा बजाइएको थिएन ।

रथारोहणलाई निश्चित गराउन रातो मच्छिन्द्रनाथको पुजारीहरूको संस्था ३२ पानेजु संघ, यँग्वाल र रथ बनाउने वाराही र संस्कृतिकर्मीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए । उनीहरूले शनिबार जुरेको शुभसाइतमा पनि रथारोहण गर्न नसके अर्को साइत निकाल्न लगभग मुस्किल भएको बताउँदै आएका थिए ।

यस क्रममा गत बिहीबार ललितपुर महानगरपालिका र शुक्रबार साँझ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र संघीय सांसद्हरूसहित सरोकारवालाको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले रथयात्रा गर्ने निर्णय गरेको थियो ।

सरोकारवालाको बैठकमा पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, पानेजु कपिलदेव बज्राचार्य ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीलगायतले मच्छिन्द्रनाथको स्नानदेखि र रथारोहणसम्मका लागि धार्मिक र तान्त्रिक विधिपूर्वक गर्नुपर्ने सबै विधि र प्रक्रिया गरिसकेको उल्लेख गर्दै पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्नेमा जोड दिँदै आउनुभएको थियो ।

असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत् निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरि स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यसअघि पनि असार २४ गते तय गरिएको रथारोहण संस्थान स्वयंले अन्तिम समयमा आएर रोकेको थियो ।

वैशाख १२ गते रथारोहणको तिथि लकडाउनका कारण देखाउँदै स्थगित गरिएको थियो । संस्थानले पटक–पटक मिति तय गर्ने र अन्तिममा आएर स्थगित गर्ने कार्यप्रति सरोकारवालाहरूले असन्तुष्टि जनाउँदै आएको थिए ।

रथयात्रा अनिश्चित
परम्पराअनुसार रथारोहण गराइएको चार दिनभित्रमा रथयात्रा गर्नुपर्ने परम्परा रहेको छ । तर, सरकारले लकडाउन अन्त्य गरे पनि सभा–सम्मेलन र पर्व गर्न रोक लगाएकोलाई मध्यनजर गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भदौ १ गतेपछि मात्र धार्मिक विधिपूर्वक रथयात्रा गर्ने निर्णय गरेको छ । यद्यपि रथयात्राको व्यवस्थापकीय विषयमा ठोस छलफल गर्न बाँकी रहेको बुझिएको छ ।

औपचारिकरूपमा भदौ १ गतेपछि रथयात्रा गर्ने भने पनि कारोनाको संक्रमित बढ्दै गएको अवस्थामा त्यसको व्यवस्थापकीय कार्य चुनौतीपूर्ण रहेको पनि सरोकारवाला बैठकमा छलफल भएको छ । ‘शान्ति सुरक्षाको पाटो, रथ तान्ने बेला भक्तजनको व्यवस्थापनलगायत विभिन्न विषयमा प्रशासन पन्छिने हो भने ज्यापू समाजले मात्र त्यसको जिम्मा लिन सक्दैन ।’ –ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले सरोकारवाला बैठकमा भन्नुभयो ।

प्रशासनले रथयात्रामा सघाउने प्रतिबद्धतासहित लिखित पत्र नआएसम्म आफूलाई अघि नबढ्न समाजमा आबद्ध ४० टोलका नाइकेले आग्रह गरेको ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले उल्लेख गर्दै आउनुभएको छ । समाजले २०६२ सालदेखि रथयात्रालाई शान्ति र व्यवस्थापूर्वक अघि बढाउन भूमिका निर्वाह गर्दै सयौं स्वयंसेवक परिचालन गर्दै आएको छ ।

यसैबीच पानेजुहरूले रातो मच्छिन्द्रनाथको रथयात्रालाई जात्राभन्दा पनि धार्मिक परम्परा र पूजाआजका दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै स्वास्थ्य सजगता अपनाई रथयात्रा सम्पन्न गराउनुपर्नेमा जोड दिँदै आएका छन् ।

रथयात्राको समय घर्किंदै गएकाले चाँडोभन्दा चाँडो रथयात्रा गर्नुपर्र्ने दैवज्ञ जोशीको सल्लाह छ । ‘मलमासभन्दा अगावै रथयात्रा सम्पन्न गराएर रातो मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । त्यस कारण हामीसँग धेरै समय छैन । रथयात्रासम्बन्धी काममा विलम्ब गर्ने अवस्था छैन ।’ –दैवज्ञ जोशीले भन्नुभयो ।