दुर्लुङ्ग पहिरो : १० घर तत्काल स्थानान्तरण गर्न भूगर्भविद्को सिफारिस


न्युज अफ नेपाल,पर्वत ।

पर्वतको दुर्लुङ्गमा डेढ महिना पहिले गएको पहिरोको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्तान्तरण गर्न भूगर्वबिद्धले सिफारिस गरेका छन ।
खानी तथा भूगर्भ बिभागको टोलीले प्रतिबेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका १० घर अत्यन्त जोखिमा रहेका कारण तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको हो ।

गएको जेठ ३१ गते राति गएको पहिरोमा परि पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा ९ जनाको ज्यान गएको थियो । भूर्गवबिद्धको टोलीले पहिरो जानुको कारण र त्यस क्षेत्रको जमिनको आगामी अवस्थाबारे प्रतिबेदन बुझाएको छ ।

‘पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ।’ अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बास्कोटाले भन्नुभयो ‘पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ।’

अध्ययनले पहिरो जाँदाको दिन करिब ३ घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमिनमा पहिरो उत्पत्ति भई सतहको माटो र रुख बिरुवासमेत बगेको तथा केही तलको समथर स्थानमा छोटो समय थुनिन गई एक्कासि विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्तीमा पहिरोले बगाएर ल्याएको गेग्रान थुप्रिई २ घरमा क्षति पुग्नुको साथै आसपासका १० घर उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा काफलबोट/काउलेका ७ घर र खेतसहितको जमिन अस्थिर भई तलतिर बिस्तारै सर्ने क्रममा रहँदा घरहरु ढल्केको तथा चर्केको अवस्थामा पाइएकोले त्यो ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ।

ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्वविद् बास्कोटाले बताउनुभयो । उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ।

सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याकिँदा तथा साइड ड्रेन –नालीहरु) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरहरुमा जोखिम बढेको देखिएकोले त्यस्ता कार्यहरु गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।

भूगर्भविद्को रिपोर्टका आधारमा पहिरोबाट पूर्ण क्षति भएका २ तथा आसपासका १० घर, काफलबोटरकाउलेका ७ घर र ढकालवारिदेखि नुवारखोलासम्म रहेका घरहरु सुरक्षित स्थानमा सार्न सहरी विकास मन्त्रालय मार्फत काम हुने छ। त्यसै गरी पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनियरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत थप अध्ययन गरी अघि बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।