मलखाद कारोबार गर्ने सहकारी संस्था माथि छानबिनको माग


सञ्जय कार्की,रौतहट ।

मलखाद कालोबजारी गरेको आरोपमा चन्द्रपुर नगरपालिका भित्रका तीन वटा सहकारी संस्था माथि मुध्दा दायर भएको छ तर बर्षौदेखि साधारण सभा नगर्ने सहकारी संस्थाले गरेको मलखादको कारोबार माथि समेत छानबिन हुनु पर्ने माग स्थानीयस्तरमा उठेको छ ।

चन्द्रपुर नगरपालिकाका २४ वटा सहकारी संस्थाले मलखादको कारोबार गरेपनि शेयर सदस्य प्रति अनुदार रहने चन्द्रपुर नगरपालिका भित्रका ११ वटा सहकारी संस्थाले गरेको मलखाद कारोबारको छानबिन हुनुपर्ने माग उठेको हो ।

सहकारी संस्था लाई ब्यक्तिगत ब्यबसायी बनाउने सहकारी संस्था माथि छानबिनको माग उठेको हो । सहकारी संस्था मार्फत मलखाद कारोबार गरेपनि आम्दानी भने ब्यक्तिगत हुने गरेको आरोप समेत स्थानीयको रहेको छ ।

बर्षौदेखि साधारण सभा नगर्ने तर मलाखादको कारोबार गर्नेमा श्री सृजनसिल युबा कृषि सहकारी संस्था लिमिटेड पौराई, श्री सदाबहादर महिला कृषि सहकारी संस्था लिमिटेड जुडिबेला, श्री सामुदायिक बिउबृध्दि तथा कृषि बिकास सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री सनराईज कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री जनजागरण कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री अन्जली कृषि सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुर, श्री सहकारी संस्था लिमिटेड सन्तपुर, श्री प्रगती कृषि तथा बिउ बिजन सहकारी संस्था लिमिटेड सन्तपुर, श्री युबास्वरोजगार कृषि सहकारी संस्था लिमिटेड डुमरिया, श्री सृजनसिल कृषि सहकारी संस्था लिमिटेड डुमरिया, श्री सरस्वती कृषि सहकारी संस्था लिमिटेड डुमरिया रहेको छ ।

ती सहकारी संस्थाले नेपाल सरकारको अनुदानको युरिया, डिएपी र पोटास खरिद गरी किसान लाई सहुलियत दरमा बिक्री गरेको भनिएपनि मल बिक्री बितरण प्रतिबेदनमा किसानको हस्ताक्षर नगरिकनै वडाअध्यक्ष र नगरप्रमुख बाट प्रमाणित गरेको समेत खुलेको छ ।

गत आर्थीक बर्षमा कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुर बाट ती सहकारी संस्थाले खरिद गरेको मलको बिषयमा छानबिन हुनु पर्ने स्थानीय अमित श्रेष्ठले बताउनु भयो । बास्तबिक किसान लाई ती सहकारी संस्थाले सहुलियत दरमा मलखाद बिक्री गरे या नगरेको बिषयमा प्रशासनिक छानबिन हुनुपर्ने माग स्थानीयस्तरमा उठेको छ ।

सहकारी संस्थाले लेखापरिक्षण गरेर बार्षिकरुपमा साधारण सभा अनिबार्यरुपमा गर्नुपर्ने हुन्छ तर चन्द्रपुर नगरपालिका भित्र रहेका दर्जनौ बचत तथा ऋण र कृषि सहकारी संस्थाले साधारण सभा नगरीकनै कारोबार गर्दै आएपनि नीयमन निकायको कमजोरीको फाईदा ती सहकारी संस्थाका केही पदाधिकारीले फाईदा उठाउदै आएका छन ।