सल्यानमा राष्ट्रिय परिचय पत्रको लागि साढेँ ५ हजारले आवेदन दिए


न्युज अफ नेपाल,सल्यान ।

सल्यानमा राष्ट्रिय परिचय पत्र प्राप्त गर्नको लागी साढेँ पाँच हजारले आवेदन दिएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर बाट परिचय पत्र प्राप्तीको लागी पाँच हजार पाँच सय ९८ जनाले आवेदन दिएका हुन् ।

जसमा पुरुष २ हजार ९ सय ५३ जना र महिला २ हजार ६ सय ४५ जना रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।हरेक नागरिकको जैविक तथा वैयत्तिक विवरण भरेर सुरक्षित गर्ने उद्धेश्यका साथ गत बर्षको साउन ७ गते देखी राष्ट्रिय परिचय पत्रको आवेदन संकलन कार्य शुरु गरिएको थियो ।

यस अबधिमा सबैभन्दा धेरै शारदा नगरपालिकाका ३ हजार ५ सय ७६ जना र सबैभन्दा कम कालीमाटी गाउपालिकाका १ सय ४८ जनाले परिचय पत्रका लागी आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो ।

‘जिल्लाभरबाट अहिले सम्म साढे पाँच हजार नागरिकले निवेदन दिनुभएको छ, आठ हजार बढी भएमा राष्ट्रिय परिचय पत्र छपाउने तयारी थियो’ उहाँले भन्नुभयो ‘तर कोरोना रोकथाममा लागी सरकारले गरेको लकडाउनका कारण उद्धेश्य प्राप्त गर्न समस्या भयो ।’

राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पु¥याउने बहुउपयोगी कार्डका रुपमा प्रयोग हुने उहाँको भनाई छ ।

उहाँले ब्यक्तिको मतदाता परिचयपत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा राष्ट्रिय परिचय पत्रको उपयोग गर्न सकिने बताउनुभयो ।

ब्यक्तिको पहिचानसम्बन्धी समस्या समाधान गर्न, ब्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सेवा प्राप्त गर्न सकिने उहाँको भनाई छ ।

लकडाउनले गर्दा नागरिकता वनाउने घटे

सल्यानमा हालसम्म २ लाख ६४ हजार ९ सय १२ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । गत आर्थिक बर्ष २०७६/०७७ मा ३ हजार ९ सय ३१ जनाले नागरिकता प्राप्त गरेका छन् । तर यो अघिल्लो आर्थिक बर्षको भन्दा कम हो ।

अघिल्लो आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाबाट ५ हजार ७३ जनाले नेपाली नागरिकता प्राप्त गरेका थिए । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण गत बर्ष नागरिकता लिन आउनेको संख्यामा कमी आएको हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।