गल्याङ नगरपालिकाले गर्‍यो नदि उत्खनन, प्रशासनको दबाब पछि रोकियो


भूपराज बस्याल, स्याङ्जा ।

गल्याङ नगरपालिकाले कानुनलाई मिच्दै गल्याङ नगरपालिका एक मा रहेको राम्दी नदिमा बालुवा निकाल्ने काम गरेको छ ।

पाल्पा स्याङ्जा जिल्लाको सिमाना पर्ने उक्त नदिमा स्याङ्जाको क्षेत्रबाट शुक्रवार उत्खनन गरिएको थाहा पाए लगत्तै जिल्ला प्रशासनलाई खबर गरिएको स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो -‘यस्तो बर्षातको समयमा नगरपालिकाको डोजर, ट्याक्टर, टिपर प्रयोग गरेर उत्खनन गर्न गरिएको रहेछ । हामीले देख्न साथ प्रशासनलाई खबर गर्यौ ।’

स्थानीयले खबर गर्न साथ उक्त उत्खनन गर्ने काम तत्काल रोकिएको प्रमुख जिल्ला अधिकारी गगाँ बहादुर क्षेत्रले जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भन्नुभयो । स्थानीय तह आफैले उक्त उत्खनन गरेको हुँदा उत्खनन गर्ने कुनैपनी सामाग्री नियन्त्रणमा लिएका छैनौं । हामीले पनि पक्राउ पछि कारबाहीको लागि स्थानीय तहलाई नै दिनुपर्ने हुँदा उहि स्थानीय तहको सामाग्री प्रयोग गरिएको हुँदा नियन्त्रणमा नलिएको उहाँको तर्क थियो ।

बर्षात्तको समयमा आउने बालुवा निकालेर राख्न खोजिएको र पछि प्रक्रिया अनुसार टेन्डर गर्न सकिने र त्यो नगरपालिकाको आयस्रोत बन्ने हुँदा यसो गर्न थालिएको तर सबै क्षेत्रबाट बिरोध आएपछि उत्खननको काम रोकिएको गल्याङ नगरपालिकाका प्रवक्ता तथा उक्त क्षेत्रका वडा अध्यक्ष गणेश बस्यालको भनाइ छ ।