आँधीखोला गाउँपालिकाद्वारा विद्यार्थीलाई विरुवा वितरण


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका २००० विद्यार्थीलाई निःशुल्क ऐभोकाडोको बिरुवा वितरण गरेको छ ।

प्रती विद्यार्थी ५ वटा र प्रत्येक विद्यालयलाई ५ वटा गरी जम्मा १० हजार ७ सय एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । एभोकाडो ९घ्यू फल० मा अत्याधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा यसको माग धेरै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने साथै स्वास्थ्यका लागि पनि लाभदायक मानिने भएकोले एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले विद्यार्थीलाई उत्पादन सँग जोड्ने कार्यक्रमू सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो ।

विद्यार्थीलाई भविष्यमा आर्थिक रूपले सक्षम बनाउन आजैदेखि व्यावसायिक खेती तर्फ आकर्षित गर्न आफूहरूले जोड दिएको अध्यक्ष पौडेलको भनाइ थियो । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन दिने भएकोले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो कलेज फी आफैँ तिर्न सकुन् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।

अधिकांश व्यापारीले बोटै मोल मोलाई गरेर एभोकाडोको फल खरिद गरेर लैजाने गरेको कृषि शाखा प्रमुख अर्जुन चापागाँईले बताउनुभयो । फल्ने सिजनको सुरुवातीमा प्रति किलो एक सय ५० रुपैयाँदेखि मूल्य सुरु भएर सिजनको अन्तिम सम्म पाँच सय रुपैयाँ प्रति केजीसम्म हुने उहाँको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने र समुन्द्री सतहदेखि चार सयदेखि एक हजार ७०० मिटर उचाइको पहाडी भूगोलमा हुने एभोकाडोको खेती आँधीखोला गाउँपालिकाको हावापानीमा पनि सम्भव भएको कृषि प्राविधिक बिबेक आचार्यको भनाइ छ ।