जोर्डन हेन्डरसनलाई एफडब्लूए अवार्ड

0
Shares

एजेन्सी ।

फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) ‘फुटबलर अफ द ईयर २०२०’ अवार्ड इंग्लिश प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले जितेका छन् ।

३० वर्षपछि लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउने टिमका कप्तान जोर्डन हेन्डरसन बर्षको उत्कृष्ट एफडब्लूए फुटबलर घोषित भएका हुन् । उक्त अवार्ड पाउने उनी लिभरपुलका १२औं खेलाडी समेत बनेका छन् । दुई वर्षअघि लिभरपुलका इजिप्शियन स्ट्राईकर मोहमद सलाहले उक्त अवार्ड पाएका थिए ।

लिभरपुलका मिडफिल्डर जोर्डनको उत्कृष्ट कप्तानीमा लिभरपुलले तीन दशकपछि प्रिमियर लिगको उपाधि जितेको थियो । उनकै कप्तानीमा लिभरपुलले अघिल्लो बर्षको च्याम्पियन्स लिग पनि उचालेको थियो । जोर्डनले म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुइने, म्यानचेस्टर युनाइटेडका मार्कुस रास्फोर्डलाई पछि पार्दै उपाधि जितेका हुन् । भोटिङमा डी ब्रुइने दोस्रो तथा रास्फोर्ड तेस्रो स्थानमा परे । त्यस्तै एलिसोन चौथो र भान डायक पाँचौ स्थानमा रहे ।

उक्त अवार्ड जितेका हेन्डरसनले आफुलाई मतदान गर्नेहरुलाई कृतज्ञता ब्यक्त गरेका छन् । उनले भने,–“ मलाई मतदान गर्नेहरुप्रति धेरै कृतज्ञ छु । लिभरपुलबाट खेल्ने स्टेभन जेर्राड, लुईस स्वारेज, मोहमद सलाह जस्ता खेलाडीले पनि यो अवार्ड पाएका छन् । त्यसले पनि यो अवार्डको महत्व कत्तिको छ भनेर स्पष्ट हुन्छ । यसपटक लिभरपुलको सफलतामा मेरो मात्र नभई सम्पूर्ण टिमको नै उतिक्कै योगदान छ ।”

एफडब्लुबीले उक्त अवार्ड १९४८ देखि प्रदान गर्न थालिएको हो ।