वेस्ट ब्रोम फेरि प्रिमियर लिगमा

0
Shares

लन्डन, (एजेन्सी)
वेस्ट ब्रोमबीच अल्बिएन च्याम्पियनसिपबाट प्रिमियर लिगमा फेरि बढुवा भएको छ। बुधबार राति सिजनको अन्तिम खेलमा वेस्ट ब्रोमले क्युपिआरलाई हराउन नसके पनि बढुवा हुन सफल भयो। क्युपिआरसँग बराबरी खेलेको वेस्ट ब्रोमलाई एक अंक नै प्रिमियर लिगमा उक्लिन पर्याप्त भएको थियो।
वेस्ट ब्रोम इंग्लिस लिगको दोस्रो श्रेणी च्याम्पियनसिपअन्तर्गत ८३ अंकसहित दोस्रो स्थानमा रहेको हो। योसँगै टोलीको पाँचौं पटकको प्रिमियर लिग यात्रा हुनेछ। यसअघि शीर्ष स्थानमा रहेको लिड्स युनाइटेड प्रिमियर लिगमा बढुवा भएको हो।
अब एक टोलीले प्रिमियर लिगमा स्थान बनाउन बाँकी छ। त्यसका लागि तेस्रोदेखि छैठौं स्थानसम्म रहेका क्रमशः ब्रेन्टफोर्ड, फुलहाम, कार्डिफ र स्वान्सी सिटीबीच प्लेअफ खेल हुनेछ। प्रिमियर लिगमा भने नर्विच सिटी घटुवा भइसकेको छ। बर्नमाउथ, वाटफोर्ड र एस्टन भिल्लामध्ये दुई टोली घटुवा हुनेछ। आइतबार त्यसको टुंगो लाग्नेछ।