सालको चिरान गरेको काठ बरामद


विमल विष्ट, डोटी

डोटी जिल्लाको आदर्श गाउँपालिका–५ मा डिभिजन वन कार्यालयले ठूलो परिमाणमा सालको चिरान गरेको काठ बरामद गरको छ ।

डिभिजन वनको टोलीले सालको काठ चिरान गरी लुकाइराखेको खबर पाएपछि त्यसतर्फ जाँदा उक्त काठ बरामद भएको डिभिजन वन प्रमुख शम्भु तिवारीले जानकारी दिनुभयो । बरामद भएको काठको परिणाम भने डिभिजन वनले अहिलेसम्म जानकारी दिएको छैन ।

वनको टोली स्थलगत गएको १५ घण्टा बित्दा पनि बरामद काठको परिमाण र अवैध काम गर्ने व्यक्तिबारे जानकारी नदिइँदा उक्त घटना गाउँमै मिलाउने तयारी भएको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।

डिभिजन वन प्रमुख तिवारीले स्थलगत अध्ययन तथा काठ बरामद गर्न गएको टोलीले अहिले पनि उक्त क्षेत्रमै काम गरिरहेकाले यकिन विवरण भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो टोली काठ बरामद भएकै क्षेत्रमा काम गरिरहेको छ, टोली आएपछि मात्रै सबै विवरण भन्न सकिन्छ, अहिले बरामद भएको काठको परिणाम भन्न सकिने अवस्था छैन ।’

कोरोनाका कारण सरकारले गरेको लकडाउनको समयमा जिल्लामा व्यापकरूपमा वन फँडानी गरिएको स्थानीयबासीको आरोप छ ।