दयनीय अवस्थामा सदरमुकाम जोड्ने सडक


विनोदसिंह विष्ट, बैतडी

बैतडीको सदरमुकाम खलंगा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी–खलंगा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय छ ।

सदरमुकाम गढी–गोठलापानी सडक समयमै स्तरोन्नति नहुँदा सो सडकमा हिँडडुल गर्नेलाई निकै सकस हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा सडक स्तरोन्नतिका लागि ठेक्का भए पनि समयमै स्तरोन्नतिको काम नहुँदा बाटोमा हिँड्नेलाई सास्ती भएको हो । जिल्लाको मुख्य प्रशासनिक निकाय जोड्ने बाटोसमेत समयमा स्तरोन्नति नहुँदा समस्या भएको दशरथचन्द नगरपालिकामा कार्यरत नायव सुब्बा राजु विष्टले बताउनुभयो ।

वर्षात्मा सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या आएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरूको दैनिक हिँड्ने बाटोका रूपमा रहेको गोठलापानी–गढी सडक समयमा स्तरोन्नति नहुँदा विकास निर्माणले सबैलाई गिज्याएको स्थानीय दीपेश शाहले बताउनुहुन्छ । १८ महिनामा सक्नुपर्ने काम तीन वर्ष हुँदासमेत पूरा नभएको उहाँले बताउनुभयो । छेउदेखि टुप्पो सम्म खाल्टाखुल्टीमात्रै रहेको उक्त सडकमा बढीजसो जिल्लाका महत्वपूर्ण कार्यालयका हाकिम र कर्मचारीरुले यात्रा गर्दछन् ।

सदरमुकाम क्षेत्रको सो सडक स्तरोन्नति गर्नका लागि केएस कन्सट्रक्सनले ३ करोड ८० लाखको लागतमा ठेक्का पाएको भए पनि समयमा सडक स्तरोन्नति नहुँदा यात्रीलाई समस्या भएको हो । समयमै सडक स्तरोन्नति नहुँदा जिल्ला प्रशासन, दशरथचन्द नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कामका लागि जानेहरूलाई झन् समस्या हुने गरेको छ ।

१.२ किलोमिटरको सो सडक निर्माणका लागि केही व्यावहारिक समस्या र केही ठेकेदारको लापरबाही कारण समयमै काम सम्पन्न हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीको फिल्ड कार्यालय बैतडीमा कार्यरत सब इन्जिनियर सञ्जय रेग्मीले बताउनुभयो । गत असोजमै सक्नुपर्ने सो योजनाको समयमै सम्पन्न नभएपछि निर्माण कम्पनीले आगामी मंसिरसम्म ठेक्काको थप म्याद पाएको छ ।

स्टमेट भन्दा बढी काम गर्नुपरेको र विवादका कारण समयमा काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीले दाबी गरेको छ । सात मिटर सडक चौडा बनाउने भने पनि घर तथा अन्य संरचना पर्दा धेरै समय काम गर्न नपाएको कम्पनीका प्रतिनिधि पदम भाटले बताउनुभयो ।

यसअघि पनि उक्त सडकमा मात्रै वर्षेनी नगरपालिका, तत्कालीन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरेको भए पनि उक्त सडकको व्यवस्थित तरिकाले मर्मत सम्भार नहुँदा सर्वसाधारण र सवारीचालक जाखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।