रिफर गरेकी गर्भवती पहिरोका कारण बाटैमा सुत्केरी


सिर्जना पन्त, बाग्लुङ

बाग्लुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकेर धौलागिरि अस्पताल रिफर गरिएकी गर्भवती महिलालाई बाग्लुङको खहरेका स्वास्थ्यकर्मीले बाटैमा सुत्केरी गराएका छन् ।

बाग्लुङको बडिगाड गाउँपालिका–१ कि २४ वर्षीया मनिका घर्तीको पहिले नै आँङखस्ने समस्या रहेकाले बुर्तिवाङमा सुत्केरी गराउँदा अत्यधिक रक्तस्राव हुन सक्ने भएकाले बिहीबार बिहान धौलागिरि अस्पताल रेफर गरिएको थियो ।

रातभरि परेको पानीले ठाउँ–ठाउँमा पहिरो खसी मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि समयमै अस्पताल पु¥याउन कठिन भएको समयमा व्यथाले च्यापेपछि स्थानीय हेल्थ असिस्टेन्टसमेत रहेका बाग्लुङ नगरपालिका–३ का सरोज क्षत्रीले बाटैमा जोखिम मोलेर सुरक्षित सुत्केरी गराउनुभएको हो ।

‘बाटोमा ठुलो पहिरो गएको छ, उहाँलाई व्यथाले च्यापेछ’, क्षत्रीले भन्नुभयो– ‘समयमै अस्पताल पु¥याउन नसक्दा ठूलो दुर्घटना हुन सक्थ्यो, तेसैले जोखिम मोलेरै भए पनि उहाँलाई सुत्केरी गराउने निर्णय गरेको हुँ ।’

‘स्थानीय आमा समूहले पनि सहयोग गर्नुभयो’, क्षत्रीले भन्नुभयो ‘घर्तीले छोरी जन्माउनुभएको छ, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’ उहाँलाई बाटैमा सुत्केरी गराएको भए पनि प्रहरीको सहयोगमा स्टेचरमा राखेर धौलागिरि अस्पताल ल्याइएको छ ।