भद्रपुर, (नेस)
भद्रपुर नगरपालिका–२ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।
निर्माण कम्पनीको लापरबाहीले तीन बालकको डुबेर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिनुभयो । उनीहरु बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न र पौडी खेल्न गएका थिए ।
घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तजनले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ साढे ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा तैरिरहेका अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी शुरु गरेका थिए ।
प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान थामी दाजुभाइको शव त्यही पोखरीबाट पुरिएको अवस्थामा फेला पारेको डीएसपी थापाले जानकारी दिनुभयो । घटनापछि पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको मृतक तामाङ्का आफन्त आशा तामाङले बताउनुभयो ।
पीडित पक्षले जनही दश लाख क्षतिपूर्ति, मृतकका परिवारलाई रोजगारीको व्यवस्थालगायतको माग राखेको भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । राखेको मागमाथि छलफल गरी निकास निकालिने उहाँको भनाइ छ ।











प्रतिक्रिया