धादिङका सय विस्थापित


धादिङ, (नेस)

धादिङमा साउन ४ गतेदेखिको अविरल वर्षा तथा कारण बाढी–पहिरोका कारण जोखिममा परेका करिब १ सय घर विस्थापित भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारका ५ घरलाई छिमेकीको घरमा राखिएको वडाअध्यक्ष हरि खतिवडाले बताउनुभएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ सुन्दरगाउँमा १० घरलाई गजुरीको पोलिटेक्निकलमा राखिएको छ भने सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मरेडाँडाका १९ घर कुण्डेश्वर माविमा, त्रिपुरासुन्दरी गाउँपालिका गोलाङमा ५ घर महादेव मन्दिरमा, नीलकण्ठ नगरपालिका–१४ देउराली गाउँका २ घर छिमेकीको घरमा राखिएको छ ।

यसै गरी नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का ७ घर छिमेकी घरमा बसिरहेका छन् । वेनिघाट रोराङ वडा नम्बर ३ आँपखर्कका २० घर सत्यदेवी विद्यालयमा, सिद्धलेक गाउँपालिका वडा नम्बर ७ भैँसेका ७ घर जमुना डाँडामा त्रिपाल राखी बसेको, वेनिघाटरोराङ वडा नम्बर १० जवाङखोलाका ६ घर छिमेकीको घरमा बसेको र वेनिघाट रोराङकै अन्य ५ घर भने आफन्तको घरमा बस्दै आएका छन् ।

यसै गरी गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुको ६ घर छिमेकीको घरमा, गल्छी गाउँपालिका वडा नम्बर ४ को ५ घर, वडा नम्बर ५ को ४ घर छिमेकीको घरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । पहिरो र यसको जोखिब बढेपछि मानिसहरु आफ्नो घर छाड्न बाध्य भएका छन् ।