नेपाल समाचारपत्रले बनायो विपत् पत्रकारिता आचार संहिता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स प्रालिले बिहीबार एक समारोहका बीच विपत् पत्रकारिता आचारसंहिता जारी गरेको छ ।

बेलायतको बर्नमथ युनिभर्सिटीको प्राविधिक सहयोगमा करिब एक महिना लामो अध्ययनपछि कामना न्युज पब्लिकेसन्सले यो नीति सार्वजनिक गरी बिहीबारबाटै लागू भएको घोषणा गरेको छ ।

कामना प्रकाशनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र बर्नमथ युनिभर्सिटीका मिडिया तथा पत्रकारिता विभागका डीन आइनार थोरसनले विद्युतीय माध्यमबाट आचारसंहिता विमोचन गर्नुभएको हो ।

‘नेपालको स्थापित पुरानो सञ्चारगृहका लागि विपत् पत्रकारिता आचारसंहिता बनाउने काममा सहयोग गर्न पाउँदा हामीलाई प्रसन्नताको अनुभूति भएको छ’ –प्राध्यापक थोरसनले भन्नुभयो ।

नेपाली पत्रकारिताको इतिहासमा सञ्चारगृहले यस प्रकारको विपत् पत्रकारिता नीति बनाई लागू गर्ने काम गरेको यो नै पहिलोपटक हो ।

सोही कार्यक्रममा बर्नमथका अनुसन्धानकर्ता डा. चिण्डु श्रीधरणले नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि नेपाली प्रेस जगत्ले भोगेको विपत्को अवस्थामा लामो शोध गरेर प्रतिवेदन सार्वजनिक गरेको स्मरण गर्दै भन्नुभयो– ‘भूकम्प, बाढी र कोभिडजस्ता महामारीको सामना गर्दै पत्रकारिता गर्ने क्षमता नेपाली पत्रकारमा सराहनीय छ, उनीहरुलाई अलिकति मात्र व्यवस्थित ढंगले सघाउ पु¥याउन र साथ दिन सकियो भने नमुनालायकको काम हुने मैले देखेको छु ।’ डा. श्रीधरणले कामना न्युज पब्लिकेसन्सको यो काम अन्य सञ्चारगृहका लागि पनि दृष्टान्त हुने धारणा राख्नुभयो ।

कार्यक्रममा सीईओ तथा प्रबन्ध सम्पादक श्रेष्ठले बर्नमथ युनिभर्सिटीले कामना न्युज पब्लिकेसन्सलाई विपत् पत्रकारिता आचारसंहिता बनाउन सघाएकोमा आभार प्रकट गर्दै यसको कार्यान्वयनका लागि देशभर रहेका आफ्ना पत्रकारलाई तालिम दिने र निरन्तर अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

श्रेष्ठले भन्नुभयो– ‘आचारसंहिताको डिजिटल प्रति सबैलाई इमेल गरेर हामी चुप लागेर बस्दैनौं, उनीहरुलाई यसका बुँदाबुँदाका बारेमा कार्यान्वयनका दृष्टिले सचेत बनाउने र विपत्को सामना गर्ने उपकरणले समेत सुसज्जित बनाउनेछौं ।’

विमोचन कार्यक्रममा विपत् आचारसंहिताका बारेमा ओमशंकर श्रेष्ठले सविस्तार व्याख्या गर्नुभयो । यसको लेखन संयोजन सम्पादक कपिल काफ्लेले गर्नुभएको थियो ।