निर्माण कम्पनीको लापरबाहीले तीन बालकको डुबेर मृत्यु भएको स्थानीयकाे आरोप


न्युज अफ नेपाल,भद्रपुर ।

निर्माण कम्पनीको लापरबाहीले तीन बालकको डुबेर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङकुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न र पौडी खेल्न उनिहरु गएका थिए ।

घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तजनले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ साढे ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा तैरिरहेका अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी शुरु गरेका थिए ।

प्रहरी कार्यालय झापाबाट खटिएको विपतका प्रहरी टोलीले बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट पुरिएको अवस्थामा फेला पारेको डिएसपी थापाले जानकारी दिनुभयो । घट्नापछि पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको मृतक तामाङ्का आफन्त आशा तामाङले बताउँनुभयो ।

पोखरी निर्माण गर्नेक्रममा कुनै आधारभूत मापदण्ड पूरा नगरेका कारण दुर्घटना हुन पुगेको उहाँको भनाइ छ । निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड नपनाएका कारण यस्तो दूरर्दशा भएको स्थानीय फागू सुब्बाको आरोप छ । निर्माण कम्पनीको लापरबाहीले नै गाउँमा यस्तो ठूलो घटना भएको उहाँको भनाइ छ ।

पीडित पक्षले जनही दश लाख क्षतिपूर्ति ,मृतकका परिवारलाइ रोजगारीको व्यवस्था लगायतको माग राखेको भद्रपुर नगरप्रमुख जीवन कुमार श्रेष्ठले बताउँनुभयो । राखेको मागमाथि छलफल गरी निकास निकालिने उहाँको भनाइ छ ।
कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको हो । निर्माण कम्पनी आर.एन्ड.सी नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५ सय ७९ रुपैयाँमा २०७८ साल असार २४ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।