बाढी–पहिरोको कहरः देशैभर कहाँ जनधनको क्षति, कहाँ सडक अवरुद्ध


जिल्ला ब्युरो, काठमाडौं
भक्तपुर
चाँगुनारायण नगरपालिका–४ खोरियास्थित कृष्ण मावि नजिक कच्ची सडकमा अविरल वर्षाका कारण पहिरो गई सडक मंगलबार दिउँसोदेखि अवरोध भएको छ ।
महानगरीय प्रहरी प्रभाग चाँगुबाट खटिएको प्रहरीले सडक खुलाउन प्रयास गरेको थियो ।

चितवन
भरतपुर महानगरपालिका–२९ मुग्लिङ–नारायणगढ सडकखण्डको सत्रकिलो नजिकै चट्टानसहितको पहिरो खसेर मंगलबार साँझदेखि सडक पूर्णरूपमा अवरोध भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

स्याङ्जा
गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको घरमा बुधबार बिहान पहिरो झर्दा माया मृत अवस्थामा फेला परेकी छन् । पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणी सारूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ । पहिरोले उनको घर पूर्णरूपमा नष्ट भएको छ । प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

म्याग्दी
अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानी नागढुङ्गास्थित भीरबाट मंगलबार साँझ ढुङ्गा–माटोसहितको पहिरो खस्दा सोही गाउँपालिका–३ दाना काभ्रे बस्ने ३४ वर्षीय झलक पुनको पुरिएर मृत्यु भएको छ ।
साथै पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरोध भएको छ । मुस्ताङतर्फ पैदल जाँदै गरेका मानिससमेत पहिरोमा परेको हुन सक्ने भएकाले सिमा प्रहरी चौकी भुरुङतातोपानीले खोजी कार्य गरिरहेको छ ।

झापा
अविरल वर्षाका कारण मंगलबार राति पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका–७ मोदीडाँडा बस्ने तेजकुमार बराइलीको पहिरोले घरको पर्खाल भत्की पाहुना आएका मेचीनगर नगरपालिका–९ बस्ने १५ वर्षीय विवेक दर्नालको पुरिएर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसीबी र स्थानीयको सहयोगमा उनको शव बाहिर निकालेको छ ।

महोत्तरी
बलबा नगरपालिका–११ भगवतीपुरस्थित रातु खोलाले मंगलबार बिहानदेखि बगाई बेपत्ता भएका भंगाहा नगरपालिका–६ बस्ने ४० वर्षीय वीरेन्द्र कापड सोही नगरपालिका–४ स्थित उत्तरबारी टोलमा मृत अवस्थामा फेला परेका छन् ।
जनकपुरबाट साइकलमा घर संग्रामपुर जाने क्रममा रातु खोला तर्दा खोलाले बगाएका उनलाई खोजी गर्ने क्रममा शव फेला परेको हो ।

रुपन्देही
कञ्चन गाउँपालिका–५ भैसाही बस्ने २४ वर्षीय रोहित थारू कपिलवस्तु बाँणगंगा नगरपालिका–१० भेलैयास्थित कोठी खोलामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
माछा मार्न भनी रूपन्देही–कपिलवस्तुको सिमानामा पर्ने कोठी खोलामा गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

नवलपरासी (पश्चिम)
सुस्ता गाउँपालिका–५ थारूटोलमा अविरल परेको वर्षाका कारण नारायणी नदीको बहाव बढ्न गई १७ वटा घरभित्र पानी पसेर मंगलबार साँझदेखि डुबानमा परेको छ ।
डुबानमा परेका घरमध्ये सोही ठाउँ बस्ने केदार चौधरीलगायत ५ जनाको कच्ची घर भत्किँदा करिब ४६ हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, सुनवल नगरपालिका–४ सितलास्थित तुरिया खोलामा डाइभर्सन गरेको तालमा एक अपरिचित पुरुषको शव फेला परेको छ । डुबेर मृत्यु भएको आशंका गरिएको उनको प्रहरीले थप अनुसन्धान गरिरहेको ।

सुनसरी
बराहक्षेत्र नगरपालिका–५ स्थित घैचा खोलामा अविरल वर्षाका कारण पानीको बहावले जगर्नाथ डेडराज जनता माद्यामिक विद्यालय कालाबन्जरको पर्खाल भत्काएको छ ।
साथै प्रयोगशालामा समेत पानी पसेर किताब, कापी, फ्लेक्स पेपरलगायतका सामग्री भिजेर करिब ५ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही
चन्द्रनगर गाउँपालिका–४ मुस्लिम टोलस्थित रजदिया बाँके मदनी मदरसाको पर्खाल अविरलको वर्षाका कारण मंगलबार बिहान भत्किँदा करिब ३ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाल्पा
निस्दी गाउँपालिका–४ झ्यालटुङ बस्ने धनबहादुर सुनारीको कच्ची घर अविरल वर्षाका कारण मंगलबार दिउँसो भासिँदा भाडावर्तन, लत्ताकपडा, अन्नपातलगायतको सामान गरी करिब ८ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसै गरी तिनाउ गाउँपालिका–५ कालिमाटीमा पहिरो झरेर सिद्धार्थ राजमार्ग मंगलबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले एकतर्फी सडक सुचारु गराउनुका साथै आवश्यक पहल गरिरहेको छ ।

सप्तरी
हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा मंगलबार दिउँसोदेखि ८०÷९० घरधुरीमा अविरल वर्षाका कारणले कोशी नदीको पानी पसेको छ ।
जिल्ला अन्तर्गतका सम्पूर्ण सुरक्षा निकायका स्थानीय प्रमुखहरु र स्थानीय निकायसमेतको टोली हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित बाँधमा कमान्ड सेन्टर खडा गरी उद्धार कार्यमा जुटेको थियो ।

सर्लाही
चक्रघट्टा गाउँपालिका–५ पडरिया बस्ने सहदेव भण्डारीको कच्ची घर अविरल वर्षाका कारण मंगलबार भत्किँदा अन्नपात, फर्निचरलगायत गरी करिब ५ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट
ईशनाथ नगरपालिका–१ स्थित सीमा प्रहरी चौकी बन्जरहामा अविरल वर्षाका कारण आएको लाल बकैया खोलाको बाढीको पानी पसेको छ । उक्त कार्यालय सोही ठाउँस्थित राम सुनर प्रसादको घरमा सारिएको छ ।
यसै गरी गौर नगरपालिका–२ स्थित भन्सार सुरक्षा गार्डको कम्पाउन्डमा बाढीका कारण करिब ३ फिट पानी कार्यालयमा भरिएको थियो । उक्त कार्यालय सोही ठाउँस्थित रामेश्वर शाहको घरमा सारिएको छ ।

प्युठान
सरूमारानी गाउँपालिका–२ दर्भान पुल नजिकै भालुबाङ–प्युठान सडकखण्डमा पहिरो खसेर मंगलबार साँझदेखि सडक अवरुद्ध भएको छ ।
प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाइएको छ ।

मुस्ताङ
थासाङ गाउँपालिका–२ कोवाङस्थित प्रहरी चौकी कोवाङ मंगलबार साँझदेखि पहिरो खसेर जोखिममा परेका कारण सोही ठाउँस्थित अमन पौडेलको घरमा स्थानान्तरण गरिएको छ ।

तनहुँ
बन्दिपुर गाउँपालिका–६ नाल्दीस्थित बुद्धसिंह राजमार्गमा पहिरो झरेर सोही ठाउँ बस्ने नवराज गुरुङसहित ४ जनाको घर मंगलबार दिउँसो बगाएको छ ।
इलाका प्रहरी कार्यालय सराङघाटबाट खटिएको प्रहरीले उद्धारका लागि आवश्यक पहल गरेको थियो ।